बल्ल कुमारी बैंकले चार संस्थालाई गाभ्यो, अझै पुँजी पुगेन

Advertisement

काठमाडौंः एनसीसी बैंकसँग मर्जरको सहमति तोडेको कुमारी बैंकले अन्ततः चार संस्थालाई गाभेर शुक्रबारबाट एकीकृत कारोबार गरेको छ । पुँजी वृद्धिका लागि तीब्र दबाब खेप्दै आएको बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेर एकीकृत कारोबार सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन । राष्ट्र बैंकले तोकेअनुसार यही असारभित्र बाणिज्य बैंकहरुले आठ अर्ब रुपियाँ पुँजी पुर्याउनुपर्ने हुन्छ । तर, एनसीसीसँग आफैले मर्जर तोडेर आफै पुँजी पुर्याउने अभियानमा लागेको कुमारी बैंकसँग गाभिने संस्थाहरुसँगको कुराकानी र प्रक्रिया ढिलो हुँदा बैंक सञ्चालक र व्यवस्थापकहरु दबाबमा थिए ।

लामो समयदेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ) बिहीन रहेको कुमारीलाई मर्जरअघि नै सिइओ नियुक्ति गर्न राष्ट्र बैंकले निर्देशन दिएपछि सुरेन्द्र भण्डारीलाई बनाएको छ । मर्जरसँगै कुमारी बैंकको चुक्ता पुँजी सात अर्ब ४१ करोड पुगको छ । बाँकी रकम बैंकले चालु आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिएर पुर्याउने योजना बनाएको छ ।

त्यस्तै बैंकको निक्षेप ५२ अर्ब र ऋण ४५ अर्ब पूगेको छ। शाखा ७४ र कर्मचारी संख्या ७५४ पुगेको छ । कार्यक्रममा गभर्नर नेपालले स्थानीय तहको निर्वाचनपछि ठूलो आर्थिक क्रियाकलाप स्थानीय तहमा हुने र त्यहाँ पुँजी आवश्यक पर्ने हुँदा बैंकहरु चाडो स्थानीय तहसम्म पुग्नु आवश्यक भएको बताए ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले मर्जर नीतिले बैंकको पुँजी झन्डै चार गुणाले बढेको र यसले एकीकृत कारोबार गर्न उत्साह प्रदान गरेको बताए । बैंकर्स सङ्घका अध्यक्ष अनिलकेशरी शाहले बैंक तथा वित्तीय सुधारका लागि एकीकृत कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाइनुपर्ने बताए ।

कुमारी बैंकका सञ्चालक एवं मर्जर समितिका संयोजक शोभाकान्त ढकालले आफूहरुले थुप्रै बैंक वित्तीय संस्थालाई मर्जरका लागि प्रस्ताव गरे पनि सफल हुन नसकेको भन्दै ढिलै भए पनि सफलता मिलेको अनुभव सुनाए ।

उनले मर्जरको प्रयास मेगा बैंकबाट सुरु गरेको र उससँग सफल नभएपछि पोखरा, वुटवल र वीरगञ्ज संस्थाहरुसँग कुराकानी गर्दा पनि कुरा नमिलेको भन्दै पछि एनसिसीसँग मर्जरका लागि सैद्धान्तिक सहमति गरेको बताए । एनसीसीसँग मर्ज गर्ने कुरा सेयरधनीले साधारणसभाबाट अस्वीकार गरेपछि अहिले गाभिएका संस्थाहरुसँग कुमारीले कुरा अघि बढाएको थियो ।

Advertisement

Advertisement

Advertisement