सहकारीको सुशासन र नियमनमा सुधार हुनु जरुरी छः अर्थमन्त्री

Advertisement

ललितपुरः अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहकारी क्षेत्रको संस्थागत सुशासन र पारदर्शीता बढाउनु जरुरी रहेको बताएका छन् । ९५औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २४औं राष्ट्रिय सहकारी संघ दिवसमा शनिबार उनले सहकारी ऐन, २०४८ संशोधन भएपछि नियमत र सुशासनको समस्यामा सुधार आउने बताए ।

ठूलो व्यापार घाटा कम गर्न, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर काम गर्नुपर्छ भन्दै सहकारी क्षेत्रले ग्रामीण क्षेत्र र समुदायको विकासमा गरेको योगदानकै कारण यसलाई आर्थिक विकासको एउटा खम्बा स्वीकार गरिएको बताए ।

मुलुकको आर्थिक विकासमा सबैको अठोट भए १० बर्षमा विश्वका विकसित मुलुकमा नेपाल पनि पुग्नसक्ने भन्दै कार्कीले सहकारी क्षेत्रको विकासका लागि आफू अर्थमन्त्री भइन्जेल काम गर्ने बताए । यसअघि आफू कुनै सार्वजनिक कार्यक्रममा नगएको र नजाने निर्णय गरे पनि सहकारी क्षेत्रको महत्वपूर्ण कार्यक्रम भएकाले बाचा तोडेर सहभागी भएको उनले बताए ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले संविधानको गतिशिलताको आधारमा सहकारी ऐन जारी हुनुपर्ने बताए । उनले भने, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीले काँध थाप्नुपर्ने भएकाले गलत गर्ने सहकारीलाई संघले संरक्षण गर्दैन । यसमा सबै निश्चिन्त भए हुन्छ ।’

राष्ट्रिय योगजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले राज्यले सहकारीलाई धेरै महत्व दिएको भए पनि सहकारी क्षेत्रबाट त्यति प्रतिफल आउन नसकेको बताए । सहकारी उत्पादन मूल्य श्रृखलामा जोडिनुपर्ने भन्दै उनले भने, ‘नविनतालाई सहकारीले आत्मसाथ गर्दै समय अनुसार परिवर्तन हुनुपर्ने देख्छु ।’

एमाले नेता भरतमोहन अधिकारी, काँग्रेसतर्फकी साँसद ओमदेवी मल्ल, सहकारी अगुवा दीपकप्रकाश बास्कोटा, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यष सरोज शर्मालगायतले सहकारी क्षेत्रको योगदान र महत्व भएकै संयुक्त राष्ट्र संघले समेत यसलाई दिगो आर्थिक विकासको आधार मानेको र नेपालमा संविधानमै आर्थिक विकासको खम्बको रुपमा स्वीकार गरिएको भन्दै सहकारीको ऐन सहकारीमैत्री हुनुपर्ने बताए ।

उत्कृष्ट सहकारी संघसंस्था पुरस्कृत
अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी संघले ललितपुर सहकारी संघलाई उत्कृष्ट सहकारी पुरस्कार र सात प्रदेशबाट सातवटा सहकारी संस्थालाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरेको छ ।

यो पुरस्कार पाउनेमा झापाको महारानी झोडा साना किसान कृषि सहकारी संस्था, सर्लाहीको सगुन बचत तथा ऋण सहकारी संस्था, चितवनको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था, नवलपरासीको नवप्रगति बचत तथा ऋण सहकारी संस्था, रुपन्देहीको प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, दैलेखको गोठपाँडा कृषक सहकारी संस्था र दार्चुलाको केदारनाथ बचत तथा ऋण सहकारी संस्था छन् ।

Advertisement

Advertisement

Advertisement