निर्यात ६७ अर्ब, आयात आठ खर्ब ९३ अर्ब, व्यापार घाटा कम गर्ने औजारहरु असफल

Advertisement

काठमाडौंः अन्तर्राष्ट्रिय व्यापारमा नयाँ रेकर्ड कायम हुँदै चालु आर्थिक बर्षको पहिलो ११ महिनामा आठ खर्ब ९३ अर्ब १० करोड रुपियाँको सामान आयात भएको छ । निर्यात भने त्यसको १३ दशमलव ३ गुण कम अर्यात ६७ अर्ब ३६ करोड रुपियाँमा सीमित रहेको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा विशेषगरी भारतसँग रहेको ठूलो व्यापार असन्तुलन कम गर्ने कुरा नीति निर्माण तहदेखि निजी क्षेत्रसम्मले निकै धेरै गर्दै आए पनि व्यापार घाटा र आयात–निर्यात अन्तर भने अस्वाभाविकरुपमा बढदै गएको छ । व्यापार घाटा कम गर्ने अधिकांश औजारहरु असफल भएका छन् ।

वैदेशिक व्यापारमा रहेका लाखौं नेपाली युवाहरुले पठाएको विप्रेषणभन्दा बढि रकम सामान आयातमा बाहिरिन थालेको छ । गएको ११ महिनामा नेपालको कुल वैदेशिक व्यापारको घाटा अघिल्लो बर्षको सोही अवधिभन्दा ३० दशमलव ३ प्रतिशतले बढेर आठ खर्ब २५ अर्ब ७४ करोड रुपियाँ पुगेको छ ।

कुल व्यापारमा निर्यात र आयातको योगदान क्रमशः सात प्रतिशत र ९३ प्रतिशत रहेको छ । एघार महिनामा निर्यात ५ दशमलव ८ प्रतिशतले बढदा आयात भने २८ दशमलव १ प्रतिशतले बढेको छ । यस अवधिमा भारतसँगको मात्रै व्यापार घाटाको अंश ६५ प्रतिशत रहेको छ भने चीनसँगको १२ दशमलव ३ प्रतिशत छ ।

गएको ११ महिनामा टर्कीतर्फ पोलिष्टर यार्नको निकासी ९० प्रतिशतले बढेर तीन अर्ब ५१ करोडको भएको निकासी तथा व्यापार प्रवद्र्धक केन्द्र तथ्यांकमा उल्लेख छ । तर, ऊनी गलैंचाको निर्यातमा ८ दशमलव ३ प्रतिशतले ह्रास आई छ अर्ब ७३ करोडमा सीमित भएको भने तयारी पोशाकको निर्यात ९ दशमलव ७ प्रतिशतले ह्रास आई चार अर्ब ७२ करोडमा सीमित भएको छ ।

यता आयातमा भने फलाम तथा स्टीलको आयात ३३ प्रतिशतले वृद्धि भई ९३ अर्ब ६५ करोड, पेट्रोलियम पदार्थ ८८ दशमलव १ प्रतिशतले वृद्धि भई एक खर्ब १२ अर्ब २ करोड, यातायातका साधन र पार्टपुर्जा ३० दशमलव ५ प्रतिशतले वृद्धि भई ७३ अर्ब ७२ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री १७ दशमलव ४ प्रतिशतले वृद्धि भई ३५ अर्ब ४१ करोड पुगेको छ ।

Advertisement

Advertisement

Advertisement