गरिमाको मुख्य कार्यालय पोखराबाट काठमाडौं आइपुग्यो, आक्रामक उपस्थिति जनाउने रणनीति

Advertisement

काठमाडौंः पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंकको केन्द्रीय कार्यालयको उद्घाटन गरे ।

कार्यक्रममा गर्भनर नेपालले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रभावकारी सुपरिवेक्षणमा गर्ने भन्दै बैंक वित्तीय संस्था नाफा कमाउनका लागि सञ्चालन गर्न नहुने बताए । बैंकका सञ्चालकहरुलाई नाफा कमाउन छ भने अरु व्यवसाय गर्न उनको सुझाव छ ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । उनले भने, ‘हामी उत्कृट सेवा दिने लक्ष्यका साथ आक्रामक उपस्थिति जनाउँदैछौं । काठमाडौं स्थानान्तरण यसको पहिलो सुरुवात हो ।’

पोखराबाट काठमाडौंमा आफ्नो मुख्य कार्यालय स्थानान्तरण पूरा गरी गत चैत २७ देखि लाजिम्पाटबाट बैंकले अनौपचारिक सेवा सुरु गरेको यस बैंकको कार्यालय उदघाटन भने आज भएको हो ।

बैंकले हालसम्म १३ अर्ब ९५ करोड रुपियाँ निक्षेप संकलन तथा १२ अर्ब ९० करोड रुपियाँ कर्जा प्रवाह गरी ४२ करोड १६ लाख सञ्चालन आम्दानी गरेको जनाएको छ । केही समय अघिमात्रै १० बराबर ७ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको गरिमाको हालको चुक्तापुँजी दुई अर्ब १६ करोड ९६ लाख रुपियाँ रहेको छ ।

यसैबीच बैंकले शुक्रबार नै चाबहिलमा आफ्नो शाखा समेत बिस्तार गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले शाखाको उद्घाटन गरे । चावहिलबाहेक बैंकको सामाखुसी, लाजिम्पाट, कलंकीसहित देशभर ४७ शाखा र ९ वटा एटीएम रहेका छन् । बैंकका दुई लाख ११ हजार सेवाग्राही रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement