नेपालमा भइरहेको अबौं नोक्सानी रोक्ने 'क्लिन फिड' नीति कार्यान्वयन हुन नदिने खेल सुरु

Advertisement

काठमाडौंः सरकारले साउन १ गतेदेखि विज्ञापन रहित (क्लिन फिड) नीति, २०७३ कार्यान्वयन गर्ने तयारी गरिरहेको बेला यसलाई कार्यान्वयन हुन नदिने तयारी गरिएको छ । क्लिन फिड नीति कार्यान्वयन नहुँदा विशेषगरी भारतीय च्यानलहरुको विज्ञापन नेपालमा निर्वाधरुपमा प्रसारण भई मुलुकलाई बार्षिक अबौं रुपियाँ नोक्सान भइरहेको बेला फेरि उक्त नीति कार्यान्वयन हुन नदिने तयारी गरिएको हो ।

नेपाल केवल टेलिभिजन महासंघ, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ, डिजिटल सिस्टम अफ नेपाल प्रालि र डिस होम नेपालले संयुक्तरुपमा विज्ञप्ति प्रकाशित गरी यो नीति लागू हुन नसक्ने भनेर राज्यको नीति नियमलाई ठाडै चुनौति दिएका छन् ।

सरकारले लागू गर्ने तयारी गरेको विज्ञापनरहित नीति राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित विपरित रहेको उनीहरुको तर्क छ । हाल नेपालमा प्रसारण भई आएका ९५ प्रतिशत विज्ञापन सहितका विदेशी च्यानलहरुका लागी नेपालमा विज्ञापनरहित फिड नरहेको र भारतीय प्रसारक फोरमले नेपालको लागि क्लिन फिड उपलब्ध गराउन नसकिने भनेको जानकारी गराएका छन् ।

यता नेपाल विज्ञापन संघलगायतका संस्थाले भने यो नीति चाँडै लागू गर्न माग गर्दै आएका छन । क्लिन फिड नीति लागू भए नेपालको विज्ञापन बजारमा गुणात्मक वृद्धि हुने, बहुराष्ट्रिय कम्पनीहरुले नेपाललाई लक्षित गरेर भारतीय टेलिभिजन च्यानलहरुमा विज्ञापन गर्दा मुलुकलाई अबौं रुपियाँ आर्थिक नोक्सानी हुनुका साथै विदेशी व्यापार तथा संस्कृतिको अनधिकृत अतिक्रमण हुने बताउँदै आएका छन् । यो नीति लागू भए नेपालमा मिडियाहरुका साथै पत्रकारहरु पनि आर्थिकरुपमा सम्पन्न हुने विश्वास लिइएको छ ।

यता केवल टेलिभिजन महासंघ, केवल टेलिभिजन व्यवसायी महासंघ, डिजिटल सिस्टम र डिस होमले भने नेपालका लागि अलग्गै फिड तयार गरी प्रसारण गर्न सम्भव नै नरहेको भन्दै प्रसारण हुँदा पनि नेपाली उपभोक्ताले क्लिन फिडबाट प्रसारित च्यानलको शुल्क भुक्तान गर्न सक्ने नसक्ने तर्क अघि सारेका छन् ।

क्लिन फिड लागू गरिएमा नेपाली डिटिएच कम्पनी तथा केबल कम्पनीहरु बन्द नै हुने, हाल नेपाली टेलिभिजनहरुको प्रसारण डिटिएच कम्पनी तथा केबल कम्पनीमार्फत भइरहेकाले त्यसबाट नेपाली टेलिभिजनहरु पनि बन्द हुने, यस क्षेत्रमा लगानी भएको अर्बौं रुपियाँ डुब्ने भन्दै उनीहरुले सरकार र ठूला टेलिभिजन सञ्चालकहरुलाई अप्रत्यक्षरुपमा धम्क्याउने प्रयास गरेका छन् ।
नेपाल जस्तो भू–परिवेष्टित र खुला सीमाना भएको मुलुकमा विदेशी डिटिएचको चोरी पैठारी हुन सक्ने भन्दै डिटिएच केबल कम्पनीहरुले प्रधानमन्त्रीदेखि सुचना तथा सञ्चार मन्न्त्रालयका सचिवसम्मलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

क्लिन फिड नीति लागू गरे आफूहरु बिक्रीयोग्य वस्तु नभई व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले साउन १ गतेदेखि सबै नेपाली तथा विदेशी च्यानलहरु बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement