अबौं अनियमितताका आरोपी चुडामणि छुटाउन पहल सुरु, सर्वोच्चमा हालियो रिट

Advertisement

काठमाडौंः अबौं रुपियाँ भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

शर्माकी श्रीमती कल्पना उप्रेतीमार्फत विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई मंगलबार दायर गरेको रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको छ ।

रिट निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोही अनुसार शर्माले काम गरेको हुँदा थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ ।

राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले पुर्पक्षका लागि उहाँलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशअनुसार शर्मालाई अहिले पनि थुनामा राखिएको छ ।

शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायतका आरोप छ ।

Advertisement

Advertisement

Advertisement