देशको बेइजेत गरेर एडीबीको जागिर खान जाने मुख्यसचिवलाई राजीनामा गराउन माग

Advertisement

काठमाडौंः सरकारका मुख्य सचिव जस्तो उच्च र गरिमामय पदमा बहाल रहेको व्यक्ति राजीनामा नगरी एसियाली विकास बैंक (एडीबी)को जागिरमा गएका सोमलाल सुवेदीलाई राजीनामा गराउन साँसदहरुले माग गरेका छन् ।

देशको बेइजेत हुनेगरी एडीबीको जागिर खान जाने व्यक्तिलाई दोहोरो पदमा नराख्न आग्रह गर्दै बिहीबारको संसदको बिहीबार साँसदहरुले दबाब दिएका हुन । बैठकमा प्रतिपक्षी सांसदहरूले निजामती सेवाको सर्वोच्च पदमा रहेका व्यक्ति राजीनामा नदिइकन एडीबीको जागिरमा जाँदा देशकै प्रतिष्ठा गिरेको गम्भीर प्रश्न उठाएका थिए ।

साँसदहरुको चर्को दबाबपछि सभामुख ओनसरी घर्तीले सरकारको ध्यानाकर्षण गराइन । सुवेदीले राजीनामा नदिदा वरिष्ठ सचिव धनबहादुर तामां मुख्यसचिव हुनबाट बन्चित भएका थिए भने सरकारले विवादित सचिव राजेन्द्रकिशोर क्षत्रीलाई मुख्यसचिव बनाएको छ ।

बैठकमा एमालेका सांसद रेवतीरमण भण्डारी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुवेदी प्रकरण उठाएका थिए । त्यसपछि सभामुख घर्तीले त्यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जवाफ दिएकी थिइन् । बैठकपछि घर्तीले संसद् भवनमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी निजामती सेवाको सर्वोच्च पदमा बहाल व्यक्तिलाई एडीबीको जागिरमा पठाउने सरकारी निर्णयका चर्को विरोध भएकोले यसलाई सच्याउन आग्रह गरेकी थिइन ।

सुवेदी एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा साउन १ देखि काम गर्न जान लागेका हुन । मन्त्रिपरिषद्ले उनको मुख्य सचिव पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेको छ । एडीबीको सहसचिव स्तरको कर्मचारी जाने पदमा नेपाल सरकारको मुख्य सचिव जस्तो व्यक्ति जागिर खान जानु अनुचित भएको साँसदहरुको भनाई छ ।

साँसदहरुले सत्ता र शक्तिको आडमा मुलुकको प्रतिष्ठा गिराउने र प्रशासनिक कानुनको उल्लंघन गरिएको भन्दै सरकारी सेवामा पनि रहने र एडीबीको जागिर पनि खान मिल्दैन भने । एक वर्ष ढिला अवकाश लिँदा चार हजार चार सय बढी निवृत्तिभरण पाइने लोभले मुलुकको राष्ट्रिय अस्मितामाथि खेलवाड गर्न नपाइने भन्दै उनीहरुले सुवेदीको नैतिकतामा समेत प्रश्न उठाएका थिए ।

Advertisement

Advertisement

Advertisement