मध्यरातमा केवल सञ्चालकहरुले 'खोखा' बुझाउन तयार भएपछि क्लिन फिड स्थगित

Advertisement

काठमाडौंः शुक्रबार दिउसोसम्म कुनै पनि हालतमा साउन १ गतेबाट विज्ञापन रहित (क्लिन फिड) नीति कार्यान्वयन हुने बताइरहेको सुचना सञ्चार मन्त्रालयका अधिकारीहरुले शुक्रबार राति एकाएक उक्त नीति तत्काल स्थगित गर्ने रहस्यमय निर्णय गरेको छ ।

नेपालको मिडिया उद्योगदेखि विज्ञापन बजारको विकास र अबौं रुपियाँको राजश्वमा योगदान पुग्ने यो नीति केवल सञ्चालकहरुको आर्थिक प्रलोभनमा परेर स्थगित गर्ने काम भएको छ । लामो समयदेखि बहसको विषय बन्दै आएको र मिडिया क्षेत्रबाट कार्यान्वयनका लागि आग्रह हुँदै आएको क्लिन फिडको व्यवस्था एकाएक स्थगित गरिँदा विशेषगरी विज्ञापन व्यवसायीहरु निराश भएका छन् ।

केवल सञ्चालकहरुले टेलिभिजन प्रसारणमा अवरोध गर्ने भएकाले ठूला मिडिया सञ्चालकहरु यस विषयमा खुलेर बोल्न सक्दैनन् । तर उनीहरु पनि यो नीति लागू हुनुपर्छ भन्ने पक्षमा छन् । सञ्चार मान्त्रालयका एक अधिकारीले माथिको दबाबमा क्लिन फिड स्थगित गर्नुपरेको खुलासा गरे । को हो माथिबाट दबाब दिने भनेर प्रतिप्रश्न गर्दा उनले बालुबाटारबाट दबाब आएर यस्तो निर्णय भएको बताए । यतिखेर सञ्चार मन्त्रालय मन्त्रीबिहीन छ ।

घर गइसकेका सञ्चार मन्त्रालयका अधिकारीहरुलाई एकाएक मन्त्रालय बोलाएर राति ९ः३० बजे क्लिन फिड तत्काललाई स्थगित गर्ने भनेर निर्णय गरिएको थियो । त्यसको कारणमा कतिपय कार्यसम्पादन बाँकी रहेको भनेर उल्लेख गरिएको छ । राति नै गोरखापत्रमा फोन गरेर सुचना प्रकाशितका लागि ठाउँ राख्न निर्देशनसमेत दिइएको थियो ।

विदेशी च्यानलहरु प्रसारण गरेवापत निकै ठूलो रकम फाइदा उठाउँदै आएका नेपालका केवल सञ्चालकहरु नेपालमा कुनै पनि हालतमा क्लिन फिड नीति लागू होस भन्ने चाहदैनन् । सरकारले गत बर्ष यो जारी गरेदेखि नै उनीहरुले यसको विरोध जनाउँदै आएका थिए । बजेट वक्तव्यमार्फत नै सरकारले साउन १ गते आइतबारबाट यो नीति लागू गर्ने भनेपछि केवल सञ्चालकहरुले विदेशीसहित नेपाली टेलिभिजन च्यानलहरुसमेत बन्द गर्ने भन्दै सरकारलाई धम्क्याउँदै आएका थिए ।

यद्यपि सञ्चार मन्त्रालयले शुक्रबार दिउसोसम्म पनि नीति लागू गर्ने कुरामा सरकार पछि नहटने बताउँदै आएको बेला बेलुकी एकाएक यसलाई स्थगित गर्ने निर्णय गरियो । केवल सञ्चालकहरुले विदेशी टेलिभिजन प्रसारण गरेवापत जम्मा ८८ लाख रुपियाँ मात्रै बुझाउँछन । तर उनीहरुको आम्दानी एक अर्ब ८३ करोड रुपियाँ छ ।

अहिले उनीहरुले विदेशी च्यानलहरु डाउनलिंक गरी सञ्चालन गरिरहेका छन् । सरकारले स्याटलाइटमार्फत अपलिंक र डाउनलिंक गर्ने व्यवस्था मात्रै गरिदियो भने पनि क्लिन फिडको समस्यासहित नेपालमा विरुद्ध अनावश्यक प्रचार गर्ने विदेशी च्यानलहरुलाई सरकार आफैले रोक लगाउन सक्ने हुन्छ । साथै, नेपालको केवल सञ्चालकहरुको वास्तविक हैसियत र कारोबारसमेत नियमत गर्नसक्ने अवस्था सिर्जना गर्न सकिन्छ ।

आम्दानीअनुसार उनीहरुले न कर बुझाउँछन, न उपभोक्तालाई सहुलियत नै दिएका छन् । नेपाल विज्ञापन संघका एक पूर्वअध्यक्षले भन्छन– यसमा कम्तिमा पनि आठ–दश खोखा (करोड)को डिल भएको छ । किनभने यति ठूलो डिलमा मिलेमतो ठूलै हुन्छ । दुई–चार खोखा त अचार पनि हुँदैन । केवल सञ्चालकहरुले दावी गरे जस्तो क्लिन फिड लागू गर्न कुनै अप्ठ्यारो नरहेको भन्दै आनका पूर्वअध्यक्षले यदी उनीहरुले भने जस्तो अप्ठ्यारो नै भए पनि नीति लागू भइसकेपछि अरु पनि विकल्पहरु आफूहरुले दिएको विकल्प दिएको बताए ।

उनले आफ्नो मुलुक र आफ्ना जनतालाई धोका दिएर बर्षौंदेखि भइरहेको अबौं रुपियाँको नोक्सानी रोक्ने अवसर आर्थिक प्रलोभनमा परेर रोक्ने काम भएको भन्दै यस विषयले आफूहरुलाई गम्भीर बनाएको बताए । पूर्वअध्यक्षले भने– यसमा इण्डियन ब्रोकास्टरहरुलाई दोष दिनु बेकार छ । उनीहरुलाई नेपालमा क्लिन फिड लागू गर्ने नगर्ने विषय कुनै सरोकारको विषय होइन । यहाँका डिस होम जस्ता केवल सेवा प्रदायकहरुको स्वार्थ मात्रै हो । इण्डियाले विरोध गर्यो भनेर प्रचार गर्यो भने सरकार डराउँछ भनेर हौवा फैलाइएको मात्रै हो ।

क्लिन फिड नहुँदा राज्यले अबौं रुपियाँको राजश्व गुमाउँदै आएको छ भने नेपालको कला र संस्कृतिमाथि विदेशी अतिक्रमण समेत हुने गरेको छ । सरोकारवालाहरुसँग समेत कुनै छलफल नै नगरी गरिएको गम्भीर यस विषयको विषयमा संभवतः आइतबार मिडिया सञ्चालक र विज्ञापन व्यवसायीबीच गम्भीर छलफल हुने बताए ।

Advertisement

Advertisement

Advertisement