ढलेका पोल मर्मत नहुँदा एक महिनादेखि दुई गाउँ अन्धकारमा

Advertisement

फलेवास (पर्वत) । विगत एक महिनादेखि यहाँका दुई गाउँ अन्धकार बनेका छन् ।

हावाहुरीसँगै पोल ढलेका कारण विद्युत् आपूर्ति बन्द भएको हो । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको वडा नं २ र ३ रानीपानी र बराचौर अन्धकारमय बनेका हुन् । हावाहुरीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति मर्मतका लागि सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा साविकका बर्राचौर र रानीपानी गाविसका करिब एक हजार ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् । रानीपानीको बरारुखमा रहेको मुख्य लाइनको फ्यूज गएको करिब एक महिना हुँदा एउटा फ्यूजसमेत प्राविधिकले नराखिदिँदा त्यहाँका नागरिक समस्यामा परेको स्थानीयवासी गणेश पराजुलीले जानकारी दिए।

गाउँमा लाइन विस्तार गरिएका काठका पोल भाँचिएकाले पनि विद्युत् आपूर्तिमा समस्या भएको हो । रानीपानीका वडा प्राविधिकलाई खबर गर्दा मर्मतमा चासो नदिएकाले अझै केही दिन मर्मत गर्न नसकिने बताएको स्थानीयवासी लीलाधर पराजुलीले गुनासो गरे। विद्युत् आपूर्ति बन्द हुँदा गाउँमा खाना पकाउन, मोबाइल चार्ज गर्न तथा कुटानी पिसानी र स्थानीय फर्निचर उद्योगलाई बढी समस्या परेको छ । विद्युत्को अभावले स्थानीयवासी सञ्चारको पहुँचबाट वञ्चित बनेका छन् ।

Advertisement

Advertisement

Advertisement