जिल्लाका सम्बन्धित जिल्ला कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाइने

Advertisement

काठमाडौँ: सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाटै खटाउने भएको छ । प्रदेश कानून नबन्दासम्म सङ्क्रणकालीन अवस्थाका लागि जिल्लास्थित विभिन्न कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाउ लागिएको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सङ्घ र प्रदेशको निर्वाचन नहुँदासम्म सरकारले जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयबाट खटाउने जानकारी दिए।

स्थानीय तहमा कर्मचारी खटाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कर्मचारी व्यवस्थापन समिति गठन गरिएको छ । प्रजिअले जिल्ला भित्रका नगरपालिका/गाउँपालिकामा आवश्यक कर्मचारी व्यवस्थापन गर्नेछन् ।

समितिले स्थानीय तहलाई संविधानले दिएको २२ वटा कामका आधारमा जिल्लामा रहेका कार्यालयबाट कर्मचारी खटाउनेछन् । स्थानीय तहमा काम थपिएपछि कर्मचारी पनि धेरै चाहिने भएको छ ।

सचिव थपलियाका अनुसार स्थानीय तहका लागि करिब ७५ हजार कर्मचारी आवश्यक पर्नेछ । अहिले स्थानीय तहमा करिब १७ हजार मात्र कर्मचारी छन् ।

Advertisement

Advertisement

Advertisement