काठमाडौं महानगरले मनोमानी ढंगले कर बढाएको भन्दै निजी क्षेत्र आक्रोसित

Advertisement

काठमाडौंः काठमाडौं महानगरपालिकाको परिषदले बढाएको करको नेपाल चेम्बर अफ कमर्शले विरोध जनाएको छ । महानगरपालिकाको महानगर परिषद्ले कर बढाएको हो । आर्थिक विधयेक २०७४ पारित गर्दै महानगरपालिकाले सवारी साधनमा दोब्बर कर बढाएको छ ।

इन्जिनबाट चल्ने दुईपाँंग्रे मोटरसाइकल, स्कुटर वा त्यस्तै यस्तै सवारीसाधनको कर बढाएर वार्षिक चार सय रुपियाँं पुर्याएको छ । यसअघि वार्षिक दुई सय रुपियाँ थियो ।

चेम्बरको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७४।७५ को अर्थसम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न भनी गरिएको कर वृद्धि हामीलाई मान्य छैन ।’

नेपालको संविधान र प्रचलित कानुनको अधिनमा रही स्थानीय तहले आफनो कार्यक्षेत्रभित्र परिचालन गर्न सक्ने राजश्वका स्रोत, दायरा र दर समेतको विश्लेषण गर्न राजश्व परामर्श समिति गठन गरी परिमार्जन गर्न सक्ने व्यवस्था छ ।

गाउँं तथा नगरपालिकाको उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा गठन हुने परामर्श समितिमा गाउँं नगरपालिकाको कार्यकारी अधिकृत, नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधिलगायत सदस्य रहने व्यवस्था छ ।

तर परामर्श समिति नै गठन नगरी मनोमानी रुपमा कर वृद्धि गरिएको चेम्वरको भनाई छ । चेम्वर अफ कमर्स लगायतका निजी क्षेत्रका प्रतिनिधि सहभागी गराई राजश्व परामर्श समितिलाई पूर्णता दिएर मात्रै करको दर निर्धारण गर्न समेत अनुरोध गर्दै चेम्बरले निजी क्षेत्रको यो मागको सुनुवाई नगरी जबरजस्ती महानगरपालिका अगाडि बढे सम्पूर्ण उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रनुको विकल्प नहुने चेतावनी दिएको छ ।

Advertisement

Advertisement

Advertisement