कतार संकटपछि कतार एयरवेज चढ्नेहरु आधै घटे

Advertisement

काठमाडौंः विभिन्न आरोप लगाउँदै खाडी राष्ट्रहरुले कतारसँगको दौत्य सम्वन्ध तोडेर उसलाई नाकाबन्दी गरेपछि कतार एयरमार्फत यात्रा गर्ने यात्रुहरुको संख्या पनि ह्वात्तै घटेको छ ।

कतारसँग सम्वन्ध तोडने साउदी अरव, इजिप्ट, संयुक्त अरब इमिरेट्स (यूएई) बहराइन, यमन, लिबिया जस्ता मुलुकहरुमा कतार एयरको उडान बन्द नै छ भने पश्चिमा मुलुकहरुमा पनि धेरै उडान उसले कम गरेको छ । उडान भएका गन्तव्यहरुमा समेत यात्रुहरु नपाउँदा विश्व कै ठूलो हवाई सञ्जाल बनाउने विमान सेवामध्येको एक कतार एयर यतिबेला आर्थिक र व्यवसायिक हिसावले संकटमा परेको छ ।

मध्यपूर्वको सबैभन्दा ठूलो हवाई सेवा कतार एयरका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले अमेरिकामा यात्रुहरुको अनिश्चितताका कारण आफूहरुले उडानको संख्या घटाउनुपरेको स्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्लिम समुदायलाई अमेरिका भ्रमणमा कडाई गर्ने भनेदेखि नै सुरु भएको उडान कटौति पछिल्लो कतार संकटले गर्दा थप घटाइएको छ । त्यस्तै, विजनेश स्टाण्डर्ड डटकमले भनेको छ, ‘छिमेकी खाडी राष्ट्रहरुले नाकाबन्दी लगाएपछि कतार एयरको ट्राफिकमा दोहोरो अंकको गिरावट आएको छ ।

कतार एयरवेजबाहेक एथिहाद, इमिरेट्स, गल्फ एयरलगायतले समेत आफ्ना यात्रुहरुलाई गुमाउनुपरेको छ । कतार एयरको कुल बजारमध्ये १० प्रतिशत मात्रै दोहामा रहेको र बाँकी अन्य गन्तव्यहरुमा रहेको भन्दै विजनेश स्टाण्डर्डले आफ्नो देश कतारमा मात्रै नभएर अन्य गन्तव्यहरुमा हुँदै आएको उडानहरुमा समेत प्यासेन्जरको गिरावट सहनुपरेको छ ।

साउदी अरेविया र यूएई कतार एयरको एकल र सबैभन्दा ठूलो बजार हुन । अन्य मुलुकबाट यी दुई देशमा जाने अधिकांश यात्रु कतार एयरवेजमार्फत यात्रा गर्दै आएका थिए । त्यसपछिको उसको ठूलो बजार भनेको भारत हो । नेपाल, बंगलादेश, श्रीलंका जस्ता मुलुकबाट समेत धेरै कामदारहरु ओसादै आएको कतार एयरवेजको बुकिङ पछिल्लो दिनमा निकै घटेको छ ।

विजनेश स्टाण्र्डर्ड लेख्छ, ‘यस संकटको बारेमा कतार एयरवेज मौन बसे पनि आफ्नो अस्तित्व जोगाउन उसले आगामी दिनमा हवाई भाडामा भारी कटौती गर्नसक्ने संभावना छ ।’ क्लियरट्रिपका एयर एण्ड डेष्टिनेशन प्रमुख रामचन्द्रन भन्छन, ‘जुन ५ पछि हामीले क्लियरट्रिपमा ५५ प्रतिशत बढि कस्टोमर कलहरु रिसिभ गरेका छौं । उनीहरुको चासो र प्रश्न बुक गरेको टिकट फिर्ता हुन्छ कि हुँदैन । अर्को वैकल्पिक उडान कुन हुन्छ भन्ने रहँदै आएको छ ।’

Advertisement

Advertisement

Advertisement