एनआइसी एसिया आक्रामक बजार विस्तार र डिजिटल बैकिङ सेवाका साथ प्रस्तुत, यस्तो छ योजना

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले आउँदो छ महिनाभित्रै एटीएम तीनसय, एक बर्षभित्र दुईसय शाखा, दुईसय शाखारहित बैंकिङ सेवा र डिजिटल बैकिङलाई विस्तारका लागि दुई हजार प्वाइन्ट अफ सेल्स विस्तार गर्ने योजना बनाएको छ ।

बैंक स्थापनाको २०औं बर्ष प्रवेशको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले यो विस्तारले बैंकको अहिलेको भन्दा व्यापक हुने बताए ।

साथै, बैंकले घरमै बसेर साधारण सेयर निष्कासन (आइपिओ) भर्न सकिने डिजिटल सी आस्वा प्रणाली सञ्चालनमा ल्याउने, अनलाइनबाटै खाता खोल्न सकिने व्यवस्था गर्ने, सहायक कम्पनी एनआइसी एसिया क्यापिटलमार्फत लघुवित्त सेवा सुरु गर्ने जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत रिसालले क्यासलेस कारोबारका लागि डिजिटल बैंकिङ सेवाको व्यापक विस्तार गरिने र अनलाइन र एसएमएसमार्फत ग्राहकलाई सुचना दिने स्वचालित प्रणाली सुरु गरिसकेको बताए ।

कर्जा प्रक्रियालाई सहज बनाउन अनलाइन स्कोरिङ प्रणाली सुरु गर्ने, त्यसबाट सेवाग्राहीले कस्तो परियोजनामा कतिसम्म रकम पाउने भन्ने कुराको जानकारी प्राप्त गर्नसक्नेछ ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४७ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ प्रतिशत बढी नाफा कमाएको हो ।

गएको असारसम्म बैंकले ८५ अर्ब निक्षेप संकलन गरी ७२ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकले निक्षेपमा २६ प्रतिशत र कर्जामा २२ प्रतिशत वृद्धि गरेको रिसालले बताए । उनले यस वर्ष निक्षेप ११५ अर्ब रुपियाँ र कर्जा ९५ अर्ब पुर्याउने लक्ष्य लिएको जानकारी दिए ।

बैंकको खराव कर्जा घटेको र सम्पत्तिको क्वालिटी राम्रो भएको भन्दै बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए’ प्राप्त गरेको जानकारी दिए । एनआईसी एसियालाई नेपालको बैंकिङ क्षेत्रमा एउटा सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गराउने लक्ष्य लिएको रिसालले बताए ।

 

विसं २०५५ साल साउन ५ गते विराटनगरमा क्षेत्रीय बैंकको रुपमा स्थापना भएको एनआइसी बैंकले २०७० सालमा बैंक अफ एसियासँग मर्जर भएर एनआइसी एसिया बैंक बनेको थियो ।

Advertisement

Advertisement

Advertisement