चाबहिल–साँखु सडकको दूरावस्था सुधार्न सबै दलका जनप्रतिनिधि बल्ल एक भए

Advertisement

काठमाडौंः चाबहिल–साँखु सडकखण्डको दूरावस्था फेर्नुपर्नेमा सांसद, नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सरोकार भएका सरकारी निकायका प्रतिनिधिको बल्ल ध्यान पुगेको छ । यस सडकको सुधारबारे छलफल गर्न आयोजित कार्यक्रममा सांसद रामेश्वर फुयाँलले हालको ठेक्काको ठाउँमा अर्को वैकल्पिक व्यवस्था गरेर भए पनि सडक सुधारको काम गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा सबै जनप्रतिनिधिले तत्कालै अस्थायी समाधान निकाल्न आग्रह गरेका थिए । सडक आयोजनाले समेत विस्तारित भई पक्की सडकको काम सकिन अझै कम्तीमा दुई वर्ष लाग्ने बताएकाले अस्थायी समाधान निकाल्नैपर्ने बाध्यता रहेको उनीहरुको निष्कर्ष छ ।

सांसद दीपक कुइँकेल, कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा र उपप्रमुख बिन्दु सिंखडा, शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ र विभिन्न वडाका वडाध्यक्ष, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना, विद्युत्, टेलिकमलगायत विभिन्न कार्यालयका प्रतिनिधि र स्थानीय सरोकारवाला छलफलमा सहभागी थिए ।

सडक विस्तार र सुधारका लागि थालिएको काम महिनौदेखि लथालिंग हुँदा सडकको अवस्था दयनीय बन्न पुगेको छ । जसले गर्दा सडकमा सवारी आवागमन र हिँडडुल गर्न ठूलो समस्या हुनेगरेको छ । एम्बुलेन्ससमेत सहजरुपमा चल्न नसक्ने गरी सडक बिग्रिएको, धेरै ठाउँमा ठूला खाल्डो परेको, पानी परेका बेला सडक चल्नै नसक्ने भएको, घण्टौँसम्म ट्राफिक जाम हुँदा विद्यार्थी समयमा विद्यालय र कर्मचारी कार्यालय नपुग्ने अवस्था रहेको यात्रुहरुले गुनासो गर्दै आउने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement