राजधानी उज्यालो, बाहिर लोडसेडिङ बढ्यो

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले हिउँदमा मर्मत र सरसफाई गर्नुपर्ने विद्युत आयोजनाहरु त्यतिबेला नगर्न र भारतबाट आयातित विजुलीको परिमाण घट्दा विशेषगरी राजधानी काठमाडौं बाहिरका विद्युत उपभोक्ताहरु चारदेखि सात घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य भएका छन् ।

राजधानीमा धेरै लोडसेडिङ गर्दा आलोचना बढी हुने भएपछि यहाँ सकेसम्म शुन्य गर्ने प्रयासमा रहेको प्राधिकरणले मध्य बर्खामा समेत चर्को लोडसेडिङ गरेको छ । सोचेअनुसार विद्युत आयोजनाहरु समयमा निर्माण सम्पन्न हुन नसक्दा लोडसेडिङ व्यवस्थापन गर्न प्राधिकरणको अहिलेको व्यवस्थापन असफल भएको हो ।

प्राधिकरणले केही दिनअघि मेलम्चीको पाइपलाइन विच्याउने कारणलाई देखाउँदै राजधानीका केही स्थानमा दैनिक समेत आधा घण्टादेखि दुई घण्टासम्म लोडसेडिङ गरे पनि अहिले भने त्यसलाई नियमित गरेको छ ।

तर बाहिर मध्य तथा सुदूरपश्चिम क्षेत्रमा चारदेखि सात घण्टासम्म लोडसेडिङ रहेको स्वयम प्राधिकरणको भार प्रेषण केन्द्रका कर्मचारीले स्वीकार गरेका छन् । उनीहरुका अनुसार केही आयोजनामा बाढीले क्षति पुगेको, कतिपय आयोजनाहरु समयमा मर्मत नहुँदा अहिले समस्या आएको, विगतमा जस्तै बर्खामा भारतबाट आयात हुने विजुली कम हुँदा लोडसेडिङ गर्नुपरेको हो ।

कुलेखानी जलाशययुक्त आयोजनामा पर्याप्त पानी नहुँदा पिक आपरमा आवश्यकताअनुसार आयोजना चलाउन नसक्ने अवस्था नरहेको जनाइएको छ । त्यस्तै, कोहलपुर–महेन्द्रनगर दोस्रो सर्किट नयाँ भुरिगाउँ सबस्टेसन जोड्न कोहलपुर–लम्की १३२ केभी प्रसारण लाइन बन्द गरिएको, जसबाट महेन्द्रनगर–अत्तरिया सबस्टेसन र लम्की सबस्टेसनबाट विद्युत वितरण भइरहेका क्षेत्रमा लोडसेडिङ बढेको छ । बीरगञ्जका कतिपय क्षेत्रमा दैनिक छ देखि सातघण्टासम्म लोडसेडिङ हुँदै आएको छ । लोडसेडिङकै कारण यस क्षेत्रका उद्योगधन्दा सञ्चालनमा ठूलो समस्या भइरहेको वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्षले बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement