अलजाजिरा टेलिभिजन बन्द गर्न नमानेपछि कतार संकटको समाधान निस्किएन

Advertisement

इस्तानबुलः कतारमा गत महिनादेखि जारी कूटनीतिक संकटको कुनै समाधान निस्किन सकेको छैन । यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु पनि सफल हुन सकिरहेका छैनन् ।

कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी समेत गरेका छन् । ती देशहरुले नाकाबन्दी अन्त्य गर्नका लागि भन्दै जुन २३ मा १३ बुदे शर्त राखेर कतारलाई पत्र पठाएका थिए ।

पत्रमा कतारमाथि बिभिन्न शर्त राखिएको छ । ती मध्येका केही शर्तमा अलजाजिरा टेलिभिजन बन्द गर्नुपर्ने र इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि राखिएको छ । तर ती शर्त मान्न कतार अहिलेसम्म तयार भएको छैन । सिएनएन र बीबीसीभन्दा तेज ढंगले अलजाजिराले समाचारहरु सम्प्रेषण गर्न थालेपछि मुस्लिम उग्रवादीहरुलाई प्रशय दिएको भन्दै पश्चिमाहरुले निकै पहिलेदेखि यस टेलिभिजन च्यानल बन्द गराउन पहल गर्दै आएका थिए ।

कतारको यो जवाफ उनीहरुलाई चित्त नबुझेपछि कतारसँगको नाकाबन्दी जारी राखिएको छ । त्यसै क्रममा कतिपय देशले कतारमाथि लचिलो हुन सकिने भनी दिएका अभिव्यक्तिहरु पनि सार्थक हुन सकिरहेको छैन ।

यसैबीच सो समस्या समाधानको पहलस्वरुप भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले गल्फ राष्ट्रहरुको भ्रमण गरेका छन् । उनले कतार र साउदी अरेबियाको भ्रमण गर्नुहुने बताइएको छ ।

टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा एर्डोगानले आइतबारदेखि नै सो भ्रमण गर्न लागेको जानकारी दिइएको छ ।

पछिल्लो समयमा कतार गम्भीर कुटनीतिक संकटमा परेको छ । त्यसैले उनको यो भ्रमण त्यसतर्फ केन्द्रित हुने भएको एर्डोगानको कार्यालयले जनाएको छ । तर त्यसमा गरिने ठोस पहल कदमीका बारेमा भने केही बताइएको छैन ।

आइतबारदेखि यही जुलाई २५ तारिखसम्म हुन लागेको उनको भ्रमण कतारमा जारी कुटनीतिक संकट समाधानमा प्रमुख मध्यस्तकर्ताका रुपमा हुनेछ । तर यसअघि भने टर्कीले मध्यस्थताको केही कुरा उठाएको छैन ।

कतारमाथि उसका छिमेकी गल्फ देशले कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी नै लगाएका छन् । उक्त समस्याको समाधान निस्किने अवस्था अझै बनेको छैन ।

कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गत हप्ता साउदी अरब पुग्नुभएको थियो ।

“फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतारका देशका जनता विषेशगरेर विद्यार्थी बढी मर्कामा परेका छन् र यसले अरुलाई पनि दुःख दिएको छ” ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए ।

विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिएको भए पनि अहिलेसम्म यस विषयमा कुनै पहल भएको छैन ।

रियादको भ्रमणपछि उन कुवेत र संयुक्त अरब इमिरेट्स पनि पुगेका थिए । ड्रिनले सो भ्रमणमा छलफलबाटै सङ्कटको समाधान खोज्न जोड दिएका थिए ।

उनीसँगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लङ्घन गरेका प्रमाणहरु रहेको दावी गर्दै सम्बन्ध पुनस्र्थापनाका लागि कतार सच्चिएर आउनुपर्नेमा जोड दिएका थिए ।

पछिल्लो समयमा कतारका छिमेकी खाडी मुलुकहरुले भने सन् २०१३ को साउदी अरेबियासँगको सम्झौता र २०१४ को खाडी मुलुकको सहकार्यका लागि गरिएको ‘सप्लीमेन्ट्री एग्रिमेन्ट’ सम्झौता कार्यान्वयनमा बेवस्ता गरेको बताएका छन् ।

तर यी सबै आरोपहरुको कतारले भने खण्डन गर्दै आएको छ । उसले आफूमागि लगाइएका यी सबै आरोपहरु निराधार रहेको स्पष्ट रुपमा भन्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement