उपलब्धी जोगाउन राहदानी विभागलाई परराष्ट्रमन्त्रीको आग्रह

Advertisement

काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रवाह गर्ने राहदानी विभागले विकसित प्रविधिअनुसार अगाडि बढ्नुपर्ने बताएका छन् ।

विभागले आइतबार आयोजना गरेको कार्यक्रममा उनले भने, “विद्युतीय राहदानी जारी गर्ने सरकारको योजनालाई मूर्तरुप दिन सूचना प्रविधिको प्रचुर ज्ञान आवश्यक छ, धेरै चुनौती पार गर्दै अघि बढ्नुछ ।”

मन्त्री महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय राहदानी विभाग बन्नु गौरवको विषय हो भने । उनले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताए ।

मन्त्री महराले प्राप्त उपलब्धि जोगाउन विभागका कर्मचारीलाई निर्देशन दिए । कर्मचारीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न मन्त्रालयले अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि उनले जनाए ।

परराष्ट्र सचिव शंकरदास वैरागीले पारदर्शिता, व्यावसायिकता र प्रभावकारिता वृद्धिको परिणामस्वरुप विभागले उक्त प्रमाणपत्र पाएको बताए । उनले भने, “यो उपलब्धी अन्य सरकारी नियकालाई पनि प्रेरणा स्रोत हो ।” वैरागीले सुधार निरन्तर हुने प्रक्रिया भएको बताउँदै उपलब्धीसँगै महत्वपूर्ण जिम्मेवारी थपिएको बताए ।

राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डानुरुप सेवा प्रवाह गरेको भन्दै अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो । राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आईएसओ ९००१ः २०१५’ पाउने पहिलो सरकारी निकाय हो ।

Advertisement

Advertisement

Advertisement