सबै तहका जनप्रतिनिधिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न रोक

Advertisement

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सबै तहका जनप्रतिनिधिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न रोक लगाएको छ । केन्द्रीय बैंकले सोमबार एक निर्देशन जारी गर्दै जनप्रतिनिधिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न रोक लगाएको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागद्वारा जारी निर्देशन अनुसार, यस बैंकबाट ‘क’ ‘ख’ ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई गरिएको एकीकृत निर्देशन, २०७३ को इ.प्रा. निर्देशन नं. ६/०७३ को बुँदा नं. १ को उपबुँदा १६ पछि देहाय बमोजिमको उपबुँदा नं. १७ थप गरिएको हुँदा सोहि बमोजिम गर्न गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरि यो निर्देशन जारी गरिएको छ ।

उपबुँदा नं. १७ मा भनिएको छ ‘संघीय संरचना बमोजिम स्थानीय, प्रादेशिक वा संघीय तहको पदाधिकारीमा निर्वाचित व्यक्ति यस बैंकबाट इजाजतपत्र प्राप्त संस्थामा सञ्चालक रहँदा संस्थागत सुशासनको पक्ष कमजोर हुने हुँदा त्यस्ता पदाधिकारीहरूले पदमा बहाल रहुन्जेल बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न पाउने छैनन्।’

बैंक तथा वित्तीय संस्था ऐनअनुसार यसअघि सांसदलाई मात्रै बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न रोक लगाएको थियो ।

Advertisement

Advertisement

Advertisement