अब संसदको समेत छुट्टै एप्स, सबै साँसदलाई बस्ने घरको व्यवस्था हुँदैछः घर्ती

Advertisement

काठमाडौंः व्यवस्थापिका–संसद्का गतिविधिलाई सहज बनाई आम नागरिकमा पुर्याउने उद्देश्यले संसद् सचिवालयले बिहीबारदेखि ‘व्यवस्थापिका–संसद् नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यस्तै www.parliament.gov.np नयाँ वेबसाइट पनि आजैदेखि सञ्चालनमा आएको छ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा मोबाइल एप र वेबसाइटको शुभारम्भ गरिन ।

मोबाइल एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । एप डाउनलोड गरेपछि संसारको जुनसुकै स्थानबाट पनि सांसदलाई प्रश्न गर्न सकिनेछ । यस्तै अन्य विषयमा पनि सूचना लिन र संसदीय गतिविधिका बारेमा जानकारी लिनसमेत एप प्रभावकारी हुने संसद् सचिवालयले विश्वास लिएको छ ।

संसद् सचिवालयले यसअघि संसद्को गतिविधिलाई यु ट्युबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य सुरु गरिसकेको छ । सभामुख घर्तीले संसद्का गतिविधिलाई कागजविहीन बनाउने लक्ष्यका साथ सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति लिएको बताइन ।

संसद् सचिवालयले प्रत्येक सांसदलाई एक÷एक वटा आइडी उपलब्ध गराउने र सोही आइडीमार्फत जनतासँग संवाद गर्नसक्ने व्यवस्था मिलाइएको छ । नयाँ एप र वेबसाइटमा संसद्का गतिविधिका अतिरिक्त संसदीय समितिका गतिविधि र नयाँ विधेयक पनि सहजैरुपमा हेर्न पाइने व्यवस्था गरिएको छ ।

संसद्को आफ्नै भवन नभएकाले भाडामा बस्नुपरेको भन्दै घर्तीले भनिन, “संसद्को आफ्नै भवन होस्, आफ्नै टेलिभिजन च्यानल होस्, सांसदलाई आवास सुविधा होस्, हाम्रो त्यो चाहना पूरा गर्ने पहल पनि भइरहेको छ ।”

Advertisement

Advertisement

Advertisement