‘मलाई अरुको जस्तो कुनै चर्चा कमाउनु छैन, म सेलिब्रेटी बन्न आएको होइन’

Advertisement

काठमाडौंः भौतिक योजना तथा यातायात मन्त्री वीरबहादुर बलायरले मन्त्री भएपछि आफूले दैनिक १५ घण्टा काम गर्ने गरेको दावी गरेका छन् । रिपोर्टर्स क्लवमा शुक्रबार उनले आफूले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार पछिल्ला दुई दिन १६ घण्टासम्म काम गरेको दाबी गरे ।

बलायरले भने, ‘अब मेरो स्पिरिटमा कर्मचारीले पनि काम गर्नुपर्छ ।’ उनले आफूलाई कुनै विलासिताबारे सोख नभएको समेत जिकिर गरे । बलायरले भने, ‘म त मन्त्रीको सपथग्रहण गर्न जाँदा पनि सार्वजनिक यातायात चढेर गएको थिएँ, त्यसैले मलाई यस्तो विलासिताको बारेमा कुनै सोख छैन, जीवनको अधिकांश समय संघर्षमा बिताएको र हत्केलामा मृत्युलाई राखेर हिँडेको मान्छे हुँ, त्यसैले मेरो पूरा ध्यान भनेको नै विकास हो ।

मन्त्री बलायरले अबदेखि सडकमा खाल्डाखुल्डीको सास्ती सर्वसाधारणले भोग्नुनपर्नेे बताए । उनले काठमाडौंमा देखिएको धुलो र ट्राफिक जामको समस्या छिट्टै हल गर्ने समेत बताए । बलायरले भने, ‘अहिले काठमाडौंमा धेरै धुलोको समस्या छ, यसलाई हल गर्नको लागि हामी सम्बन्धित निकायका सबै अधिकारीहरु बसेर छलफल गरेका छौं ।’

उनले आफू काम गर्नको लागि आएको भन्दै भने, ‘मलाई अरुको जस्तो कुनै चर्चा कमाउनु छैन, म सेलिब्रेटी बन्न आएको होइन ।’ माओवादी केन्द्रका जनार्दन शर्मालगायत केही मन्त्रीले बाहिर सस्तो लोकप्रियताका कुरा गर्ने तर भित्र अबौं रुपियाँका भ्रष्टाचारमा मुछिएको बेला बलायरले त्यस्ता कुराहरुबाट आफू मुक्त हुने बताएका हुन ।

Advertisement

Advertisement

Advertisement