नेपालसँग सीमा जोडिएका सबै नाका खोल्न र सडक बनाइदिन चीन तयार, तर नेपाल नै चाहदैन

Advertisement

काठमाडौंः चीनले नेपालसँग सीमा जोडिएका सबै नाकाहरु खोल्न र त्यससँग जोडिने नेपालतर्फका सबै सडकहरु निर्माण गरिदिन तयार हुँदा पनि नेपालले नै चासो नदेखाएको चिनियाँ पक्षले गुनासो गरेको छ । हालै चीनको तिब्बत भ्रमणबाट फर्किएका एमाले अध्यक्ष केपी ओलीसँग चिनियाँ नेता तथा अधिकारीहरुले त्यस्तो गुनासो गरेको ओलीले आफ्नो पार्टीको स्थायी समिति बैठकमा खुलासा गरेका हुन ।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले चीन नेपालको आर्थिक हित र व्यापारिक सम्वन्ध विस्तारका लागि सबै सहयोग गर्न तयार हुँदा पनि नेपाली पक्षले नै त्यसका लागि अग्रसरता लिन नसकेको गुनासो पोखेका थिए ।

चीनले नेपालको पूर्वदेखि पश्चिमसम्म एक हजार चार सय किलोमिटरमा पर्ने नाकाहरु खोल्न र सडकहरु बनाइदिन जहिल्यै तयार हुँदा पनि नेपाली पक्षबाट पनि चासो नदेखाइएको गुनासो गरेको हो ।

चिनियाँ कम्युनिस्टहरुसँगको छलफलमा ओलीले नेपालको आर्थिक विकासको सहजीकरणका लागि नाकाहरु सञ्चालनका लागि प्रस्ताव गर्दा चिनियाँ पक्षले आफूहरु त्यसका लागि जहिल्यै तयार रहेको तर नेपाल सरकारबाट प्रस्ताव आयोस भन्ने आफूहरुको अपेक्षा रहेको बताएका थिए ।

रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न चीन तयार रहेको छ ।

ती नाकामध्ये अधिकांशमा चीनतर्फ सडक निर्माणको काम भइसके पनि नेपालतर्फ हुन नसकेकोले नेपालतर्फको सडकहरु निर्माणका लागि समेत आफूहरु तयार रहेको उनीहरुले जनाउ दिएको ओलीले बैठकमा जानकारी गराएका थिए । साथै, चीनतर्फको प्रमुख नाकाको रुपमा रहेको र २०७२ वैशाखको भूकम्पपछि सञ्चालनमा आउन नसकेको तातोपानी नाकाको भौगर्भिक अध्ययन गरी चाँडै सञ्चालनमा ल्याउन आफूहरु तयार रहेको चिनियाँ पक्षले तत्परता देखाएको छ ।

ओलीले तिब्बतीस्थित चिनियाँ नेता तथा अधिकारीहरुले द्धिपक्षीय आर्थिक हितका कुरामा नेपालको प्रस्तावलाई आफूहरुले सकारात्मक लिने भन्दै नेपालको आर्थिक विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको बताएका थिए ।

चिनियाँ पक्षले यसअघि केपी ओली प्रधानमन्त्री हुँदा भएका सहमतिहरु कार्यान्वयनका लागि नेपाल सरकारले पहल अघि नबढाएको चासो राखेको ओलीले बताएका थिए । नेपालको वृहत्तर आर्थिक हितमा रहेका उक्त सम्झौताहरु कार्यान्वयन गरी लाभ लिन चिनियाँ पक्षले आग्रह गरेको भन्दै ओलीले तर नेपालको अहिलेको सरकार ती कुराहरुलाई अघि बढाउने कुरामा उदासिन रहेको बताएका थिए ।

Advertisement

Advertisement

Advertisement