लोडसेडिङ बढ्न लाग्यो, स्थानीय तहले समेत कर बढाउन थाले, हामी दोहोरो मारमा पर्यौं मन्त्रीज्यू

Advertisement

काठमाडौंः स्थानीय तहहरुबीच कर बढाउन प्रतिस्पर्धा चलेकोप्रति निजी क्षेत्रले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएका छन् । नेपाल चेम्बर अफ कमर्शले सोमबार आयोजना गरेको कार्यक्रममा व्यवसायीले आफूहरु दोहोरो करको मारमा परेको भन्दै चिन्ता जनाएका हुन ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्थानीय निकायको निर्वाचनले खुशी छाए पनि व्यापारीहरुमा भने दोहोर मारमा पर्ने चिन्ता छाएको बताए । केही स्थानीय तहले कर बढाएको र अन्य सबैले त्यही ढंगले बढाउँदै जाने हो भने त्यसको मार विशेषगरी व्यवसायी र सबै जनतामाथि पर्ने उनले चिन्ता प्रकट गरे ।

स्थानीय, प्रदेश र केन्द्र गरी तीन तिर कर तिनुपर्ने हो कि भन्ने चिन्ता व्यापारीमा छाएकोले यसलाई सरकारले स्वेतपत्र वा कानुन नै बनाएर स्पष्ट पार्नुपर्ने श्रेष्ठको माग छ । उनले लगानीको वातावरण बनिरहेको बेला फेरि लोडसेडिङ हुन थालेको भन्दै लोडसेडिङ बढन नदिन अर्थ मन्त्रालयले सक्दो पहल गर्नुपर्ने बताए ।

व्यवसायीले उजुरीको आधारमा नभई प्रमाणित भएपछि मात्रै व्यापारीमाथि कारबाही चलाउन आग्रह गरे । प्रमाणित नहुँदै व्यापारीहरुलाई पक्राउ र थुनछेक गर्ने, पछि आरोप प्रमाणित नहुने स्थितिले सम्वन्धित व्यक्तिको सामाजिक प्रतिस्ठा र व्यवसाय गिर्ने भन्दै यसमा गम्भीर हुन आग्रह गरेका थिए ।

अर्थमन्त्री कार्कीले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले व्यापार घाटा कम गर्न चुनौती भइरहेको बेला आन्तरिक उत्पादन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

Advertisement

Advertisement

Advertisement