भरतपुर-१९ को चुनावका लागि सुरक्षा व्यवस्था अति कडा पर्ने समितिको निर्णय

Advertisement

काठमाडौँ: निर्वाचन आयोगमा आज बसेको सुरक्षा समितिको बैठकले प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षाको प्रवन्धलाई थप सुदृढ तुल्याउने अठोट व्यक्त गरेको छ ।

सुरक्षा समितिका संयोजक सुधिरकुमार शाहको अध्यक्षतामा गृहमन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सम्मिलित बैठकले उक्त अठोट व्यक्त गरेको हो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रवन्ध मिलाउन समितिलाई निर्देशन दिए ।

बैठकमा चितवनको भरतपुर महानगरपालिका–१९ मा यही साउन २० गते शुक्रबार हुने निर्वाचनमा सुरक्षा व्यवस्थापन र परिचालन सम्बन्धमा तयार गरिएको सुरक्षा रणनीतिबारे केन्द्रित भएर छलफल भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगका तर्फबाट भरतपुर महानगरपालिकाको निर्वाचन र मतगणनाका लागि तयार गरिएको सुरक्षाको रणनीति के कस्तो छ र कसरी प्रबन्ध गरिएको छ भनी राखिएको जिज्ञासामा गृहमन्त्रालयका सचिवबाट पर्याप्त शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जानकारी आएको प्रवक्ता शर्माले बताए ।

सो अवसरमा सुरक्षा निकायको तर्फबाट प्रदेश नम्बर २ को निर्वाचनका लागि तयार गरिएको सुरक्षा रणनीति निकट भविष्यमै आयोगसमक्ष प्रस्तुत गर्ने प्रतिबद्धता जनाइएको थियो ।

Advertisement

Advertisement

Advertisement