'आयल निगमको जग्गा खरिदमा अनियमितता भएको छ, छानविन हुनुपर्छ'

Advertisement

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न जग्गा खरिदमा करोडौं रुपियाँ अनियमितता भएको सार्वजनिक लेखा समितिका सदस्यहरुले बताएका छन् । समितिको बुधबारको बैठकमा उनीहरुले अस्वाभाविक मूल्यमा जग्गा खरिद गरिएको भन्दै यसको छानविन र दोषीलाई कारवाही हुनुपर्ने बताए ।

खरिद गरिएको जग्गाको चलनचल्तीको मूल्य र खरिद गरेको मूल्यमा ठूलो अन्तर रहेको भन्दै समितिका सदस्यहरुलाई विचौलियामार्फत भएको यस खरिद प्रक्रिया बदनियतपूर्ण रहेको बताए ।

सांसद धनराज गुरुङ, रामहरि खतिवडा, भरत शाह, डिम्पलकुमारी झालगायतले देखाउनलाई मात्रै टेण्डर गरिएको र हरेक ठाउँमा भएको जग्गा खरिदमा विचौलियाहरु सक्रिय रहेर जग्गा पास गराउन काम भएकोले यसको छानविन गरी दोषीलाई कारवाही गरिनुपर्ने, राज्यलाई अधिक भार पर्नेगरी तिरिएको मूल्य अशुल उपर गरिनुपर्ने बताएका थिए ।

उनीहरुले नदीको बगर महगोमा खरिद गर्ने कार्यमा करोडौं रुपियाँको अनियमितता भएको बताए । आपूर्ति मन्त्री शिवकुमार मण्डलले टेण्डर प्रक्रियामा केही कमजोरी भएको स्वीकार गर्दै खरिद प्रक्रियामा कानुनी व्यवस्था मिले नमिले तत्काल छानबिन गर्ने बताए ।

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जग्गा प्राप्ति ऐन अनुसार समयमै किन्न नसकिने भएरै टेण्डर प्रक्रिया अपनाएको भन्दै ऐन अनुसार अधिग्रहण गर्दा धेरै लामो प्रक्रिया हुने भएकाले सरकारकै निर्देशन अनुसार नियमानुसार नै छिटोभन्दा छिटो भण्डारण बनोस् भन्ने उदेश्यले जग्गा खरिद गरिएको बताए । उनले यसमा कुनै अनियमितता नभएको जिकिर गरे ।

Advertisement

Advertisement

Advertisement