एनआरएनए थाइल्याण्डको नागरिक छात्रवृृत्ति परियोजना सञ्चालनका लागि मेगासँग सम्झौता

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको संयोजन र सिभिल इनिसियटिभ नामक संस्थाको आयोजनामा सुरु गरिएको नागरिक छात्रवृत्ति कोष सञ्चालनका लागि मेगा बैंकसँग सम्झौता भएको छ ।

सम्झौताअनुसार ३६ लाख रुपियाँको अक्षय कोष बैंकमा खडा गर्ने र त्यसवापत पहिलो पाँच बर्ष छात्रवृत्ति परियोजना सञ्चालन गर्न प्रत्येक बर्ष तीन लाख रुपियाँका दरले बैंकले ब्याजवापत विशेष सहयोग उपलब्ध गराउने छ ।

एनआरएनए थाइल्याण्डको पहलमा जम्मा गरिएको उक्त ३६ लाख रुपियाँको कोष प्रारम्भिक भएको संघका अध्यक्ष खगेन्द्र ढकालले बताए । उनले यो रकमलाई संघ र सिभिल इनिसियटिभको पहलमा बढाउँदै छात्रवृत्ति कार्यक्रमलाई थप परिस्कृत गर्दै लगिने बताए ।

संघले गत जुन १४ तारिखमा काठमाडौंमा विशेष कार्यक्रम गरी नागरिक छात्रवृत्त कोष सञ्चालनको घोषणा गरेको थियो । उक्त घोषणाअनुसार एनआरएनए थाइल्याण्ड र सिभिल इनिसियटिभबीच हालै कोष स्थापनाको लागि सम्झौता भएको ढकालले बताए ।

अवसरबाट विमुख समुदायका विद्यार्थीहरुको सहयोगको लागि स्थापना गरिएको यस कोषको मुख्य उद्देश्य विद्यार्थीहरुको भर्ना दरमा वृद्धि गर्नु, विद्यालयमा उनीहरुको उपस्थिति बढाउनु, स्कुल छोडने दर कम गर्नु र अध्ययनको स्तर बढाउनु रहेको छ ।

कक्षा आठदेखि १२ सम्म अध्ययन गर्नेहरुलाई समावेशीताको सिद्धान्तअनुसार प्रदान गरिने यो छात्रवृत्ति कोषको निरन्तरताका लागि मेगा बैंकमा ००१००६०३७२३४३ नम्बरको मुद्दती खाता खोल्ने काम भएको हो । कोषको परिचालनका लागि नागरिक छात्रवृत्ति कोष निर्देशिका, २०१७ पनि तयार गरिएको छ ।

पहिलो बर्ष पाइलट प्रोजेक्टको रुपमा भूकम्प प्रभावित दोलखा र गोरखा जिल्लाका २०–२० जना गरी ४० जना विद्यार्थीलाई यो छात्रवृत्ति वितरण गरिनेछ । त्यसपछि प्रत्येक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृति वितरण गर्ने लक्ष्य रहेको ढकालले बताए ।

यसको सञ्चालनका लागि शिक्षाविद् हेमन्तराज दाहालको संयोजकत्वमा छात्रवृत्ति कार्यान्वयन समिति गठन गरिएको छ । समितिको सदस्यमा छात्रवृत्ति प्रवद्र्धक खगेन्द्र ढकाल, मोतीकला सुब्बा देवान, प्रल्हाद कार्की, रमेश खड्का, शिक्षा मन्त्रालयको प्रतिनिधि र एनआरएनए थाइल्याण्डको प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

अध्यक्ष ढकालले छात्रवृत्ति कोषको दीर्घकालिन सञ्चालनका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुमार्फत कोषको रकम बढाउन सिभिल इनिसियटिभ र एनआरएनए थाइल्याण्डले निरन्तर र संयुक्तरुपमा पहल गर्ने बताए ।

कोषको पारदर्शी खर्चका लागि यसको कारोबारको विवरण संस्थाको प्रकाशन र वेभसाइटमार्फत नियमितरुपमा सर्वाजनिक गरिने भन्दै उनले यस कार्यमा सहभागिता जनाउन र सहयोग गर्न सबैसँग आग्रह पनि गरे ।

Advertisement

Advertisement

Advertisement