नेपाल-चीन सम्बन्ध 'ओबिओआर'पछि झन् प्रगाढ हुनेछ: संचारमन्त्री बस्नेत

Advertisement

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल एक चीन नीतिको पक्षमै दृढ रहेको बताएका छन् ।

साइनो नेपाल मिडिया सोसाइटीले नेपाल–चीन दौत्य सम्बन्ध कायम भएको ६२औँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल र चीनबीच सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए ।

नेपालमा चीन विरोधी गतिविधि गर्न नदिन सरकार सदैव सचेत र सतर्क छ भन्दै मन्त्री बस्नेतले नेपालको आन्तरिक मामिलामा चीन मौन रहनु र दैवी विपत्तिमा चिनियाँ जनता नेपालीको घरदैलोसम्म पुग्नुले पनि नेपाल–चीन बीचको सम्बन्ध प्रगाढ, मैत्रीपूर्ण र भाइचारामा आधारित रहेको चर्चा गरे ।

उनले चीनसँग जोडिन बाँकी ११वटा नाका खुलेपछि चिनियाँ र नेपाली जनताबीच अझै सुमधुर सम्बन्ध कायम हुने जानकारी दिए ।

सांसद रूपा महर्जनले छिमेकी मुलुक चीन र भारतबाट नेपालले धेरै लाभ लिन सक्ने बताउँदै नेपाल दुई देशबीच सेतुका रुपमा रहनुपर्ने बताए ।

उनले चीनले लिएको वान रोड वान वेल्ट (ओविओआर) अवधारणमा नेपालले सहमति जनाइसकेको जानकारी दिए । सन् २०१३ मा चीनका राष्ट्रपति सी जिन पिङले सो अवधारण अघि सारेका थिए । हाल सो अवधारणमा नेपालसहित ६८ राष्ट्रले सहमति जनाइसकेका छन् ।

नेपालका लागि चीनका राजदूत यू ह्वाङले नेपाल र चीन सरकारबीचको सम्बन्ध पुरानो र जनस्तरसम्म फैलिएको बताए ।



उनले नेपालको विकासमा चीन सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्दै चिनियाँ लगानीबाट नेपालमा केही ठूला परियोजना सम्पन्न भएको स्मरण गराए ।

पूर्व परराष्ट्रमन्त्रीद्वय महेन्द्रबहादुर पाण्डे र रमेशनाथ पाण्डेले नेपाल र चीनबीचको सम्बन्ध अनुपम रहेको जानकारी दिए ।

कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की तथा सोसाइटीका अध्यक्ष ध्रव पौडेलले भारत र चीनसँगको सम्पर्क सदैव सन्तुलित र व्यावहारिक हुनुपर्ने बताए । नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएको थियो ।

Advertisement

Advertisement

Advertisement