आयल निगम जग्गा खरिद प्रकरणमा दोषीलाई एक मिनेट पनि ढिलाई नगरी कारवाही गर्छु : मन्त्री मण्डल

Advertisement

काठमाडौँ : आपुर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको पाइए एक मिनेट पनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मण्डलले आयल निगमको जग्गा खरिदमा कमिकमजोरी र व्यापक प्रश्न उठेको उल्लेख गर्दै संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि र उक्त खरिद प्रक्रियामा अनियमितता पाईए दोषीमाथि कडा भन्दा कडा कारवाही गर्ने बताएका हुन् ।

उनले भने,‘जग्गा खरिद प्रकरणमा यदि अनियमितता भएको पाईए र संसदीय समितिले अनियमितता भएको प्रतिवेदन दिन्छ भने म एक मिनेटपनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्छु।’

मन्त्री मण्डलले खरिद प्रक्रियामा अनियमितता पाईए दोषीमाथि कारवाही गर्न आफू पूर्ण प्रतिबद्ध रहेको विश्वास दिलाए । उनले भने,‘दोषी देखिए म एक मिनेटपनि ढिलाई नगरीकन कारवाही गर्छु, म कसैको दबाब, हस्तक्षेप स्विकार गर्नेवाला छैन, कारवाही गरेरै छाड्छु।’

यद्धपी उनले जग्गा खरिद गर्ने नीतिगत निर्णय भएको उल्लेख गर्दै भने,‘तेल भण्डारणको लागि जग्गा खरिद गर्ने नीतिगत निर्णय भएको हो, तर यहाँ नियत र प्रक्रियाको कुरा महत्वपूर्ण छ, खरिद गर्ने नाममा अनियमितता र दुरुपयोग भएको पाईए दोषीमाथि कडा भन्दा कडा कारवाही हुन्छ।’

त्यस्तै उनले उक्त प्रकरणबारे सत्यतथ्य जतिसक्दो चाँडो बाहिर ल्याउनको लागि मिडियाले संसदीय छानबिन समिति, र सार्वजनिक लेखा समिति तथा अर्थ समितिलाई मिडियाले दबाब दिनुपर्ने समेत सुझाए । उनले आक्रोश पोख्दै भने,‘कुरा धेरै नगरौं, अब काम गरौं, त्यसैले यसबारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि छानबिन समितिहरुसँग मिडियाले दबाब दिनुहोस्, छानबिनको प्रतिवेदन बाहिर आएपछि काम गर्न सजिलो हुन्छ।’

त्यस्तै उनले आपुर्तिसम्बन्धी सामाग्रीहरुमा कालोबजारी गर्ने र दुई नम्बरी गर्नेहरुलाई कुनैपनि मुल्यमा छुट नदिने समेत चेतावनी दिए । उनले भने,‘कालोबजारी गर्नेहरुलाई कुनैपनि मुल्यमा छुट दिईँदैन्, जुनसुकै व्यक्ति वा व्यवासायी भएपनि कालोबजारी गर्नेलाई हदैसम्मको कारवाही हुन्छ।’

उनले जग्गा खरिदका लागि टेण्डर आह्वान प्रक्रियाबारे मन्त्रालयका सचिव र आयल निगमका पदाधिकारीसँग थप छलफल गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउनको लागि यसअघि नै निर्देशन दिईसकेको जानकारी दिए ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरिएको जग्गामा ठूलै आर्थिक अनियमितता भएको पाइएपछि संसदीय समितिहरुले यस सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाएका छन । विचौलियामार्फत ठूलै कमिसन लिएर जग्गा खरिद गरेको पाइएको पनि संसदीय समितिहरुको आरोप छ।

त्यस्तै उनले चाडपर्वहरुमा कुनैपनि किसिमको मुल्य वृद्धि नहुने समेत विश्वास दिलाए । मन्त्री मण्डलले भने,‘चाडपर्वहरुमा अतिआवश्यक वस्तुहरुको कुनै अभाव हुनेछैन, र मुल्यवृछि पनि नहुने म विश्वास दिलाउँछु।’ मुल्य वृद्धि रोक्नेबारे आफूले उत्पादक कम्पनीहरुसँग विशेष छलफल गर्ने उनले जनाए ।

Advertisement

Advertisement

Advertisement