सत्ताको लागि फेरि फुट्यो राप्रपा, पर्दा पछाडि देउवा र भारत रहेको आशंका

Advertisement

काठमाडौंः जुटेको एक बर्ष पनि हुन नपाउँदै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुटेको छ । पशुपतिशम्शेर राणा सहितका नेताहरुले राप्रपा छाडेर नयाँ पार्टी खोलेका छन् । गएको मंसिरमा राप्रपा र तत्कालिन राष्ट्रिय जनशक्ति एक भएका थिए ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठनअघि देखि नै कमल थापालाई छोडेर राणालाई सरकारमा आउन विशेष अफर गर्दै आएका थिए । कमल थापालाई कुनै पनि हालतमा मन्त्रिमण्डलमा सहभागी नगराउने बताएका देउवाले तर राप्रपा आए चारवटासम्म मन्त्रालय दिन तयार रहेको बताएका थिए ।

उनले राप्रपालाई सहभागी गराउने विषयमा थापासँग भन्दा राणासँग गोप्य वार्ता गर्दै आएका थिए । भारतको अघोषित नाकाबन्दीको बेला अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो चर्को आलोचना गरेको भन्दै भारत राणाप्रति रुष्ट रहँदै आएको थियो । राणा भने पहिलेदेखि भारत पक्षधर मानिन्छन् ।

राणा नेतृत्वको नयाँ समूहले नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ राखेको छ । यसअघि काँग्रेस फुटाएर गएको देउवा नेतृत्वको पार्टीले पनि नेपाली काँग्रेस प्रजातान्त्रिक नाम राखेको थियो । राणाको नेतृत्वको नयाँ दलले दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिएको जनाएको छ ।

नयाँ पार्टीमा सुनिल थापा, दीपक बोहोरा र विक्रम पाण्डे निर्वाचित सांसद छन् । निर्वाचित भएकाले उनीहरुको साँसद पद कायमै
रहनेछ । पार्टी फुटेपछि थापाले आइतबार ट्विट गर्दै एकता महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले पार्टी दर्ताको लागि चाहिने हस्ताक्षर पनि अधिकांश नक्कली भएको भन्दै फुटबाट विचलित नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन् ।

कुल ३७ साँसदमध्ये २२ जना राणाले लगेका छन् भने थापासँग १५ मात्रै बाँकी रहेको उक्त पार्टीका कार्यकर्ताले बताएका छन् । संसदमा प्रस्तुत संविधान संशोधन विद्ययेकमा समेत समर्थन गर्ने नगर्ने विषयमा राप्रपाभित्र मतभिन्नता रहेको थियो । यसै विषयले गर्दा पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट थापाले हतार हतार राजीनामा दिएका थिए ।

राणाले संविधान संशोधनको पक्षमा मतदान गर्नुपर्ने अडान लिँदै आएका छन् भने थापा त्यसको विरुद्धमा छन् । उनी भित्रीरुपमा विघटित राजसंस्था पुनस्थापना गरी संवैधानिक राजसंस्थाको रुपमा राख्नुपर्छ भन्ने पक्षमा रहँदै आए पनि राणाले त्यसको विरोध गर्दै आएका थिए । राणा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच दुस्मनी रहेको र राणा कुनै पनि हालतमा राजसंस्था पुनस्थापना हुनुहुन्न भन्ने पक्षमा रहेका छन् ।

हिन्दुराज्य र राजसंस्था पुनस्थापनाको मागबाट पार्टी विचलित भएको भन्दै राप्रपाका कार्यकर्ताले थापाको चर्को आलोचना गर्दै आएका थिए । उक्त एजेण्डाहरुबाट पछि हटेका कारण हालैको स्थानीय निर्वाचनमा राप्रपाको निराशाजनक परिणाम आए पछि थापा झस्किएका थिए । पूर्वपञ्चहरुको पार्टीको रुपमा चिनिएको राप्रपामा धेरै हिन्दु राष्ट्रवादी र राजसंस्था पक्षधरहरु छन् ।

Advertisement

Advertisement

Advertisement