नाकाबन्दीको झल्को दिने गरी बेलहिया–सुनौली नाकामा भारतको कडाइ

Advertisement

भैरहवा: पटक पटक विभिन्न बहानामा दु:ख दिंदै आइरहने भारतीय सीमाका प्रहरीले केहि दिन यता नेपाल–भारतको मुख्य ट्राजिन्ट प्वाइन्ट बेलहिया–सुनौली नाकाको सुनौलीतर्फ भारतीय सीमा सुरक्षाबलले सुरक्षा जाँचमा कडाइ गरेपछि आयात–निर्यात प्रभावित भएको छ ।

भारतीय सुरक्षाकर्मीले नेपालबाट भारततर्फ जाने खाली र मालबाहक ट्रक तथा सर्वसाधारणलाई कडाइका साथ चेकजाँच गर्न थालेपछि आयात–निर्यात नै प्रभावित भएको हो । यो नाका भएर मालसामान लिएर आउने ट्रक सामान अनलोड गरी पुनः भारत गएर सामान ल्याउने हुँदा ती ट्रक समयमै त्यसतर्फ जान नसक्दा आयात प्रभावित भएको हो ।

नाकामा कडाइ गरिएसँगै सयौं सवारी साधन सीमा क्षेत्रमा अलपत्र परेका छन् । भारतबाट नेपाल आउने सवारी साधन तथा यात्रुलाई भने केही सहज गरिए पनि भारतीय कोतवाली (प्रहरी) ले सीमित मात्रामा ट्रकहरू नेपालतर्फ पठाउने गरेको भन्सार एजेन्ट संघ रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । सयौं सवारी साधन बाहिरिने यो नाकामा भारतीय पक्षले दुई÷चार जना सुरक्षाकर्मी राखेर लामो समय चेकजाँच गर्दा आयात–निर्यात प्रभावित भएको छ ।

सीमानादेखि करिब ३ किलोमिटर वर नेपालतर्फ तथा परासी जाने बाइपास सडकमा लोड गरेका र खाली ट्रकको लाइन लाग्ने गरेको छ । आयात–निर्यात प्रभावित हुँदा दैनिक ७ करोड रुपियाँसम्म राजश्व नोक्सान भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले बताए ।

“अन्य समयमा दैनिक २० करोड रुपियाँ राजस्व संकलन हुन्थ्यो”, प्रमुख भन्सार अधिकृत शाक्यले भने, “अहिले दैनिक १२–१३ करोडमा सीमित भएको छ ।” भन्सार कार्यालयको तथ्यांक हेर्दा पनि दैनिक ७ करोडसम्म राजस्व संकलनमा कमी आएको देखिन्छ । यसले चालू आर्थिक वर्षमा राजस्व संकलनमा भन्सार कार्यालयले लिएको लक्ष्य पूरा गर्नसमेत चुनौती बढेको शाक्यले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पाँच नम्बर प्रदेश उपाध्यक्ष दीपक पौडेलले अवरोध हटाउन आफूहरूले पहल गरिरहे पनि भारतीय पक्षले हुन्छ मात्रै भन्ने गरेको तर नाका सहज नहुँदा आयात–निर्यातमा समस्या बढ्दै गएको बताए । भारतले लागू गरेको जीएसटी कर र नेपालले लागू गरेको एक्जिमकोडका कारण पहिलादेखिनै प्रभावित आयात–निर्यात अहिले सुरक्षा जाँचका नाममा कडाइ भएपछि थप प्रभावित भएको हो । “यस्तै अवस्था रहे यस क्षेत्रको आर्थिक अवस्था विग्रिँदै जाने निश्चित छ,” पौडेलले भने ।

साउन पहिलो सातादेखि सुरक्षा अवस्था देखाउँदै सीमा क्षेत्रमा भारतीय पक्षले अवरोध गरेपछि नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, भारतीय सुरक्षा बलका डिआइजी, नेपाली सुरक्षा निकायका प्रमुखहरूबीच अघिल्लो साता भएको छलफलमा भारतीय अधिकारीले सीमा क्षेत्रमा अवरोध नगर्ने सहमति भएको थियो ।

सहमति बमोजित चार–पाँच दिन सवारी साधान आवतजावत गरे पनि पुनः सुरक्षा अवस्थालाई देखाउँदै भारतीय पक्षले नेपालबाट भारततर्फ जाने सवारी साधनलाई कडाइ गरेको हो ।छलफलमा भएको सहमति अनुसार भारतीय पक्षले नाका सहज गराउनुपर्नेमा झन कडाइ गरेपछि भारतीय अधिकारीहरूसँग कुराकानी गरी नाका सहज गराउन पहल भइरहेकाले केही दिनमै सहजता आउने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए ।

भारतीय सुरक्षा निकायले सबै सवारी साधन तथा यात्रुको खानतलासी लिएर मात्र सीमा पार हुन दिइरहेको छ । भारत प्रवेशद्वारको मूलगेटमा बसेर एसएसबीले यात्रुको शरीर तथा वस्तुको समेत खानतलासी लिने गरेको छ ।

“पहिला सामान्य चेकजाँच गर्ने भारतीय सीमा सुरक्षा बल एसएसबीले अहिले एउटा सवारी साधन चेकजाँच गर्न पनि आधा घण्टाभन्दा बढी समय लगाउने गरेको छ,” जिल्ला ट्राफिक प्रहरी इकाई चेकपोष्ट बेलहियाका प्रहरी नायव निरीक्षक विष्णुबहादुर जिसीले भने, “के कारणले अवरोध गरिएको हो भन्ने पनि खुलाएको छैन, जसले आवत–जावतमा निकै समस्या परेकोे छ ।”

Advertisement

Advertisement

Advertisement