‘एकीकृत नयाँ नेपाल परियोजना’ बनाउन धुर्मुसले तीन करोड नेपालीसँग मागे सहयोग

Advertisement

तुलसीपुरः हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले आफूहरुले निमार्ण गर्न लागेको एकीकृत नयाँ नेपाल परियोजनालाई सहयोग गर्न सम्पूर्ण नेपालीसँग अनुरोध गरेका छन् । गाइजात्राको अवसरमा दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा उनले ललितपुरको लेलेमा सुरु गर्न लागेको राष्ट्रिय गौरवको योजनालाई सफल पार्न सबै नेपालीसँग सहयोगको अपील गरे ।

धुर्मुस सुन्तली फाउन्डेसनले पाँच अर्ब रुपियाँको लागतमा निर्माण गर्न लागेको नेपालका १२५ जातिको सँस्कृति तथा रहनसहन झल्कने परियोजना निर्माण गर्न लागेको हो । यो परियोजना सफल भए नेपालको आर्थिक क्षेत्रमा समेत ठूलो योगदान पुग्ने धुर्मुसको विश्वास छ ।

तीन करोड नेपालीले सरदर दुईसय रुपियाँ सहयोग गर्दा पनि छ अर्व संकलन हुने तथा विदेशमा रहेका ४० लाख नेपालीले प्रतिव्यक्ति सरदर दुई हजार रुपियाँ मात्रै सहयोग गर्दा पनि आठ अर्ब रुपियाँ संकलन हुने भन्दै उनले सबैको इच्छाशक्ति भए आयोजना सहजै सफल हुने बताए ।

धुर्मुसले यस परियोजना निर्माणको लागि प्रक्रियासमेत अघि बढिसकेको बताए । देश चिनाउन आफूले दिनरात देशको लागि भारी बोकेर काम गरेको अनुभव सुनाउँदै उनले सबैलाई सकारात्मक सोचको विकास गर्न पनि आग्रह गरे । धुर्मुसले भने, ‘जसको दिमाग सफा हुन्छ त्यसले मात्र देश र समाजको नेतृत्व लिन सक्छ । अनि मात्र देश विकसित बन्नसक्छ ।’

कलाकारद्धय धुर्मुस र सन्तुलीले महोत्तरी, काभ्रे, सिन्धुपाल्चोक लगायतका स्थानमा तीनवटा महत्वपूर्ण परियोजनाहरु सफलरुपमा सम्पन्न गरी जनताको मन जित्न सफल भएका छन् ।

Advertisement

Advertisement

Advertisement