बुढीगण्डकी नेपाली आफैले बनाउने शैलेन्द्र गुरागाईको सुत्र यस्तो छ

Advertisement

काठमाडौंः राष्ट्रिय गौरवको रुपमा परिभाषित बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना नेपाल आफैले बनाउने कि विदेशीलाई बनाउन दिने भन्ने विषयमा बहस जारी रहेको बेला निजी क्षेत्रका उर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईं नेपाली आफैले यो आयोजना बनाउने सुत्र अघि सारेका छन् ।

एक हजार दुईसय मेगावाटको यस आयोजना निर्माणको मोडालिटीका विषयमा बहस भइरहेको बेला डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएर टेण्डरका लागि तयारी अवस्थामा रहेको आयोजना पूर्ववर्ती सरकारले अन्तिम समयमा एक विवादास्पद विदेशी कम्पनीलाई विना प्रतिस्पर्धा दिएपछि त्यसको आलोचना भइरहेको बेला गुरागाईंले बुढीगण्डकी निर्माणका लागि नेपाल र नेपाली आफै सक्षम रहेको तर्क प्रस्तुत गरेका हुन ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले राखेका विचारः

बुढीगण्डकी जलविद्युत आयोजना महंगो भयो नेपाली जनताले पैसा हाल्न हुन्न, नेपालले बनाउन सक्दैन भन्ने कुरा गलत कुरा हो । सस्तो कसरी बनाउने छिटो कसरी बनाउने भन्ने कुरा कसैले पनि सोध्दैन । गलत तथ्य र मनगणन्ते कुरा गरेर आयोजना बनाउने काम ढिलो गरिँदै आएको छ ।

बुढीगण्डकी भनेको दुई खर्ब ६० अर्ब लागत अनुमानको आयोजना हो । यो भनेको इन्जिनियरिङ, सञ्चालन खर्च, ब्याज, महंगी सबै जोडर अनुमान गरिएको लागत हो । यो एक हजार दुईसय मेगावाटको आयोजना हो । यति परिणामको विजुली निस्किने यस आयोजनामा प्रति मेगावाट २० करोड रुपियाँका दरले दुई खर्ब ४० अर्ब रुपियाँ जलविद्युत आफैले तिर्नसक्ने पैसा हो । यो भनेको बिजुली आफैले बोक्नसक्ने पैसा हो ।

लागत अनुसार नपुग रकम भनेको करिव २० अर्ब रुपियाँ मात्रै हुन्छ । टेण्डर प्रक्रियामा गएको अवस्थामा प्रतिस्पर्धा हुँदा लागतअनुसार तलैको रकम पनि प्रस्ताव हुनसक्छ । भएन भने पनि २० अर्ब रुपियाँ जुटाउन सकिने धेरै र सरल उपाय छन् । यो यति धेरै फटाहा कुराहरु भइरहेको छ । लागत यति धेरै । फिजिवल छैन । लगानी जुटाउन मुस्किल हुन्छ । ड्याम्प भत्किनसक्न । बम पडकाइदिनसक्छ ।

यी सबै आयोजना बनाउन नदिने कुरा मात्रै हुन । ड्म्याम्प भत्किएर क्षति हुनसक्छ भनेर विश्वमा अब जलविद्युत आयोजना बनाउनै छोड्ने त ? त्यो तर्क सही होइन । आधुनिक इन्जिनियरिङ डिजाइनअनुसार गुणस्तरीय ढंगले बनाइयो भने कुनै पनि ड्याम्प केही हुँदैन । अर्को कुरा यो आयोजना आर्थिक र प्राविधिकरुपमा फिजिवल आयोजना हो । विज्ञ भनाउँदाहरुबाटै फटाहा कुरा गरेर जनतादेखि नेतासम्मलाई डर त्रास देखाउने र आयोजना बन्न नदिने प्रयास भइरहेको छ । यो रोकिनुपर्छ ।

बुढीगण्डकीमा बिजुलीले बोक्नसक्ने पैसा साझै देखिसक्यो दुई खर्ब ४० अर्ब । मानिदिउँ यसलाई घटाएर दुई खर्ब २० अर्ब कायम गरी ४० अर्ब रुपियाँ जुटाउनेतर्फ लागौं । सबैभन्दा पहिला पैसा म हाल्छु । हरेक नेपालीले पैसा हाल्छ । यति राम्रो आयोजनामा पैसा हाल्न जो पनि तयार हुन्छ । एउटै कुरा जनतालाई भ्रमित बनाउने र गलत कुरा कसैले पनि गरिदिनुभएन ।

पैसा जुटाउन सकिने केही उपायहरु अरु पनि भन्छु म । बुढीगण्डकी भनेको एउटा ठूलो ताल हो । करिव १५ वटा फेवाताल बराबरको ताल भन्ने भनेरले अध्ययनले देखाइसक्यो । यसमा निश्चित बर्ष ५० वा सय बर्षका लागि माछापालनका लागि लिजमा दिने भन्यो भने जो पनि लगानी गर्न अग्रसर हुन्छ । ठुलठूला लगानीकर्ता नसोचेको लगानी गर्न तयार हुनछ । भोलि काम गर्न थालेपछि यसले कमायो भनेर कसैले पनि रिस गर्न मिल्दैन ।

किनभने हिजो उसले केही संभावना देखेर जोखिम लिएर लगानी गरेको हुन्छ । उसले अहिले यतिसम्म लगानी गर्न भोलि यसबाट यति प्रतिफल हुन्छ भनेर हिसाव किताव गरेर निकाल्छ । बर्षको २० अर्बको माछाको व्यापार हुन्छ भने उसले १० अर्ब लगानी गर्नसक्छ । मैले गर्ने हो भने पाँच अर्ब माछाका लागि मै उठाएर हाल्न तयार छु । त्यति गरेर पनि १०–१५ अर्ब पुग्दैन भने त्यति बराबरको जग्गा राज्यको तर्फबाट अनुदान भनेर सरकारले भनिदियो भने त्यो आयोजना त्यसै फिजिवल भयो । कमर्सियल पनि भयो ।

त्यस्तै, भोलि बुढीगण्डकीको तलाउ बनिसकेपछि यो पर्यटकीय केन्द्र बन्छ बन्छ । कसैले बन्दैन भन्छ भने हावादारी कुरा हो । पर्यटकका लागि दुई वटा – चार वटा – पाँच वटा कति संख्यामा पाँच तारे होटल बनाउन सकिने हो ? पाँच– दश कति वटा रिसोर्ट बनाउन सकिने हो ? ४०–५० कति वटा मध्यमस्तरका होटल र रेष्टुरेन्टहरु बन्न सक्ने हो ? त्यसका लागि अहिले नै लाइसेन्स दिउँ । कति लगानी गछौं गर भनेर रकम संकलन गरौं । त्यसबाट पनि अबौं रुपियाँ रकम संकलन हुन्छ । नेपालीलाई लाइसेन्स दिन के गाह्रो मान्नुपर्यो । उसले बर्षौसम्म कर तिरिरहन्छ ।

यो बाहेक बुढीगण्डकीबाट सिंचाई हुने कुरा छ । जल यातायातको कुरा छ । किनभने यो बहुउद्देश्यीय आयोजना हो । यो आयोजना हामी आफैले बनाउनसक्छौं । अर्काले बनाइदेला भनेर कुर्र्यो भने यो आयोजना दशैं बर्षसम्म सुरु हुन गाह्रो छ । हिजो अरुले आएर बनाइदेला भनेको भए चाइनाको थ्री गर्जेज यति चाँडै बन्थ्यो र ? चिनियाँहरु आफै बनाउन लागि परे र यो सफल भयो । बुढीगण्डकी बनाउन पनि हामी आफै अग्रसर हुनुपर्छ । किनभने यो मुलुक हामी आफैले बनाउने । अर्काले गरिदेला भनेर कुर्ने होइन ।

चीनमा तीनसय मेगावाटको पम्प स्टोरेज प्रोजेक्ट बनाउन आयोजनाको लागि प्रतियुनिट २५ सेन्ट पर्ने भए पछि २० सेन्ट बराबरको अनुदान राज्यले दियो । कुल लागतको ८० प्रतिशत राज्यको अनुदान नै दिएर कमर्सियल्ली बनाउन भनेर जिम्मा दिएर बनाउन लगाएको छ । हामीमा त्यो स्थितिमा जानुपर्ने त होइन । बुढीगण्डकी व्यापारिक संभावना बोकेको आयोजना हो । सरकारले सामान्य सहयोग गरे पुग्छ । मुलुकको लोडसेडिङ अन्त्यका लागि सरकारले नाफा नहेरी आयोजना बनाउनुपर्ने बेला बुढीगण्डकीबाट त नाफा नै गर्न सकिन्छ ।

हामी जेनेरेटरमा प्रतियुनिट खर्च गरिरहेको छौं । मैले अहिले हिसाव निकालेको प्रतियुनिट चार रुपियाँ ८० पैसाको हो । बुढीगण्डकीको बिजुली त महंगोमा बिक्री हुन्छ । डिजलमा जसरी हाम्रो पैसा बाहिरिएको छ, त्यहीअनुसार बुढीगण्डकीको बिजुलीलाई मूल्य दिनु त । अनि कसरी यसमा लगानी गर्दा घाटा हुन्छ ? मलाई बताइदिनु न । तपाईंले कमलसमेत बेचेर यसमा लगानी गर्नुहुन्छ । बुढीगण्डकी भनेको अरबको तेलको कुवाबाट तेल प्रयोग गरेको जस्तै हो । चाहिएको बेला चलाउने । नचाहिए बन्द गर्ने । मैले भन्न खोजेको के हो भने यो आयोजना नेपालको निजी क्षेत्रले सजिलै बनाउन सक्छ । लगानी गर्न सक्छ । एउटै कुरा सरकारले कम्युनिकेट गरिदिनुपर्यो । विज्ञहरुले गलत बोल्दिनु भएन ।

Advertisement

Advertisement

Advertisement