नवराज सिलवालको सुनुवाइ भदौ १५ मा पुग्यो

Advertisement

काठमाडौंः प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी भदौ १५ गतेका लागि तोकिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि अर्को सुनुवाइ तोकिएको जनाइएको छ ।

सरकारका पक्षबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले तथा प्रहरी महानिरीक्षक प्रकाश अर्यालका तर्फबाट अधिवक्ता सतीशचन्द्र खरेल, आशिष अधिकारी र सुवास आचार्यले बहस गरेका थिए ।

यसअघि साउन १९ गते निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल र बाबुराम कुँवर तथा अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गरेका थिए । यसअघि सिलवालको मुद्दा असार २२ गतेपछि आजका लागि तोकिएको थियो ।

प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते निवेदन दिएका थिए । सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । सिलवालले वरियताक्रममा आफू पहिलोमा रहेको र चार वर्षको कार्यसम्पादन एंव मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनःअदालतमा निवेदन दिएका थिए ।

त्यसमा अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । यता सरकारी पक्षले भने सिलवालले कार्यसम्पादन मूल्यांकन प्रतिवेदन किर्ते गरेर आफूलाई वरिष्ठ बनाउने प्रयास गरेको भन्दै उनलाई कारवाही गर्नुपर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement