बाढी प्रभावितहरूलाई सहयोग गर्न उद्योगी व्यवसायीलाई महासंघको अपिल, राहत कोषको घोषणा

Advertisement

काठमाडौंः निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघले आफ्ना सदस्य एवं अन्य संघ संस्थाहरूको समेत सहयोगमा नगद तथा जिन्सी गरी करिव एक करोड रुपियाँ बराबरको सहयोगको घोषणा गरेको छ ।

साथै, महासंघले मुलुकभरका उद्योगी व्यवसायीलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावितहरुलाई सहयोग गर्न अपिल पनि गरेको छ । केही दिनदेखि अविरलरूपमा परेको वर्षाका कारण मुलुकभर भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उसले विपत्तिमा परेकाको तत्काल सहयोगार्थ सहयोगको घोषणा र अपिल गरेको हो ।

उक्त सहयोगमा महासंघको तर्फबाट नगद रु. १० लाख, नेपाल औषधि उत्पादक संघको तर्फबाट ५० लाख नगद वरावरको औषधि, नेपाली यूवा उद्यमी मञ्चबाट नगद तथा जिन्सी गरी १५ लाख, शंकर ग्रुपको तर्फबाट नगद तथा जिन्सी गरी पाँच लाख, वागमती सफाई महाअभियानका तर्फबाट १० लाख नगद र अन्य संघ संस्थाबाट १० लाख रुपियाँ गरी पहिलो चरणमा उक्त सहयोगको घोषणा गरिएको हो ।

साथै यसका लागि कार्य गर्न महासंघको सामाजिक सेवा फोरमका सभापति जयप्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ समेत गठन गरिएको छ ।

बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता संचालनमा ल्याएको छ । विपत्तिमा परेका जनताहरूको सहयोगार्थ महासंघले संचालनमा ल्याएको उक्त खाताको नम्बर ०१२५०००००६३५ रहेको छ । यस खातामा आआफ्नो क्षेत्रबाट नगद सहयोग गर्न महासंघले आफ्ना सबै सदस्य उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्य, उद्यमी व्यवसायी, गैर आवासीय नेपाली संघ लगायत अन्य संघ संस्थालाई आग्रह गरेको छ ।

विपत्तिको यस घडीमा प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने वस्तु तथा सेवाको प्राथमिकीकरण गरी यथाशीघ्र महासंघ सचिवालयमा जानकारी गराउन तथा विपतको यस घडीमा अग्रस्थानमा रहेर जनताको सेवा गर्न महासंघ आफ्ना सवै सदस्य उद्योग वाणिज्य संघ सदस्यहरु लगायत सवै जनसमुदायमा उसले आग्रह समेत गरेको छ ।

संस्थागत सामाजिक दायित्वबाट निजी क्षेत्र सदैव अभिप्रेरित रहेको र मुलुक र मुलुकवासीमा प्राकृतिक विपत्तिका वखत सदैव खुला ह्दयले सहयोग गर्दै आएको स्मरण गराउंदै महासंघले आफ्ना सबै सदस्य संघ संस्थाको सहयोग र सहकार्यमा अग्रस्थानमा रहेर विपत्तिमा परेका जनताको सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement