राहत वितरणमा एकद्धार प्रणाली भन्दै आएका गृहमन्त्रीले एनआरएनएलाई अनुमति दिए

Advertisement

काठमाडौंः बाढी पीडितहरुलाई सहयोग सरकारको एकद्धार प्रणालीबाट मात्रै गर्ने निर्णय गरेका गृहमन्त्री जनार्दन शर्माले सोही सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई गुहारेका छन् ।

सामाजिक एवं गैरसरकारी संस्थाहरुबाट सहयोग वितरण गर्दा दोहोरिने भन्दै सरकारको एकद्धार प्रणालीबाट मात्रै सहयोग वितरण गर्ने भनेर दैवी प्रकोप उद्दार समितिमा निर्णय गरेका गृहमन्त्रीले गैरआवासीय नेपालीलाई सहयोग गर्न आग्रह गरेका हुन ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेसँगको भेटमा बिहीबार बिहान शर्माले सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालीन राहत बितरण गर्न आग्रह गरे । उनले सरकारको एक्लो प्रयासले मात्रै राहत वितरण संभव नदेखिएको भन्दै सबैको सहयोग जरुरी रहेको बताए ।

एनआरएनका प्रवक्ता रञ्जु थापाका अनुसार गैरआवासीय नेपाली संघलाई सप्तरी जिल्लामा केन्द्रित भई राहत वितरणका लागि गृहमन्त्रीले आग्रह गरेका छन् । शर्माले हिमानी ट्रष्टलाई सहयोग वितरणमा रोक लगाउने उद्देश्यले एकद्धार प्रणालीको निर्णय गराएको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

अध्यक्ष घलेले आफूहरुले राहत सामग्री खरिदको प्रक्रिया अघि बढाएको भन्दै एक दुई दिनमै राहत बितरणका लागि जिल्ला पुग्ने जानकारी दिएका थिए । उनले स्थानीय प्रशासनसँग समन्वय गरी राहत वितरण गरिने बताए ।

एनआरएनएले घरबारबिहीन भएका पीडित परिवारलाई त्रिपाल र खाद्य सामग्री वितरणको तयारी गरिरहेको छ । साथै, बाढीपछि फैलिनसक्ने प्रकोपलाई ध्यान दिँदै उसले स्वास्थ्य शिविर स्थापना गर्ने योजना समेत बनाएको छ ।

एक साताभित्र करिव दुई करोड रुपियाँ संकलन गरी पीडितलाई राहत वितरण गर्ने गैरआवासीय नेपाली संघले योजना बनाएको छ । घले एक्लैले यसअघि नै एक करोड रुपियाँको सहयोगको घोषणा गरिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement