पत्रकार महासंघको चुनावी रौनक सुरु: उम्मेदवारमाथि दाबीविरोध भोलिसम्म, मतदान पाँच गते

Advertisement

काठमाडौं: पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने महाधिवेशनको निर्वाचन कार्यतालिका शनिबार सार्वजनिक भएको छ ।

प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ । मतदाता नामावलीउपर दाबी विरोध आजै १२ बजेसम्म गर्ने समय रहेको थियो भने मतदाताको अन्तिम नामावली प्रकाशन शनिबार ४ बजे नै प्रकाशन हुने कार्यक्रम रहेको छ ।

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार दर्ता भने भदौ ४ गते दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म गर्न सक्ने जानकारी निर्वाचन समितिले दिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते पौने ४ बजे प्रकाशित हुनेछ ।

उम्मेदवार उपरको दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समेत समय दिइएको छ । निर्वाचन समितिले भदौ ४ गते अपराह्न ३ः४५ देखि १ घन्टाको समय दाबी विरोध तथा उम्मेदवारी फिर्ताका लागि दिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली भदौ ४ गते बेलुका ५ बजे प्रकाशित हुनेछ ।

महासंघको नयाँ नेतृत्वका मतदानको समय भने भदौ ५ गते हुनेछ । मतदान समय बिहान ९ बजेदेखि ३ बजेसम्मका लागि तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गर्ने कार्यतालिकामा उल्लेख छ । मतगणना महासंघको केन्द्रिय कार्यालयमा गरिने पनि जनाइएको छ ।

नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । सो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्य अध्यक्षका दावी गर्दै छन् भने एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई अघि सारेको छ। प्रेस चौतारीलाई नयाँ शक्तिलगायत साना संगठनको समर्थन रहेको छ ।

Advertisement

Advertisement

Advertisement