'इम्बोस्ड' नम्बर प्लेट जडान भोलिबाट, पहिलो चरणमा सरकारी गाडीमा

Advertisement

काठमाडौं: सरकारले सोमबारदेखि सवारीसाधनमा उच्च प्रविधिको ‘इम्बोस्ड' नम्बर प्लेट जडान गर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडानपछि सवारीसाधनको सम्पूर्ण अवस्था एकै स्थानबाट जानकारी लिन सकिनेछ ।

सवारीसाधन प्रयोगकर्ता, गन्तव्य, सवारीधनी सवारी विवरणलगायत सम्पूर्ण जानकारी प्राप्त गर्न सहज हुने भएकाले इम्बोस्ड प्लेट जडान गर्न लागिएको हो ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले यसको सहजै जानकारी लिन सक्नेछन् । नम्बर प्लेट जडान भएपछि सवारीसाधनले तिर्नुपर्ने कर दाखिला गरे नगरेको थाहा हुने र चोरीका सवारीसाधन प्रयोग अन्त्य हुने सरकारको दाबी छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले औपचारिक रूपमा सो व्यवस्थाको उद्दघाटन गर्नेछन् ।

नम्बर प्लेट उद्घाटन भएको तीन दिनपछि प्रक्रिया पूरा गरी यातायात कार्यालयले पहिलो इम्बोस्ड नम्बर प्लेट विभागका महानिर्देशकको गाडीमा जडान गर्नेछ ।

विभागलाई इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्न कम्पनी छनोट गर्न १६ महिना लागेको थियो ।

विभागले २०७३ वैशाखमा बंगलादेश र अमेरिकाको संयुक्त कम्पनी डेकाटुर टाइगरसँग पाँच वर्षभित्र २५ लाख सवारीमा उच्च प्रविधिको नम्बर प्लेट जडान गर्ने सम्झौता गरेको थियो ।

कुल ३८.७५० मिलियन अमेरिकी डलरका नम्बर प्लेट जडानका लागि कम्पनी सहमत भएको थियो । अब डेकाटुर कम्पनीले करिब साढे तीन वर्षभित्र २५ लाख सवारी नम्बर प्लेट बनाउनु पर्नेछ ।

पहिलो चरणमा बागमती अञ्चल यातायात कार्यालयमा दर्ता भएका सरकारी र निजी चारपांग्रे सवारीसाधनमा नम्बर जडान गरिनेछ ।

त्यसको तीन महिनापछि बागमती अञ्चल कार्यालयमा दर्ता भएका मोटरसाइकलमा सुरु हुने विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

त्यसपछि क्रमशः उपत्यकाबाहिर र सबै प्रकारका सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुनेछ ।
जडान शुल्क कति?
इम्बोस्ड नम्बर प्लेट जडानलाई चार तहमा वर्गीकरण गरिएको छ । नम्बर प्लेट जडान गर्न मोटरसाइकलका लागि २५ सय र तीन पांग्रे सवारीका लागि २९ सय रुपियाँ तोकिएको छ ।

यसैगरी चारपांग्रे सवारीका लागि ३२ सय र हेभी सवारीको हकमा ३६ सय रुपियाँ तय भएको छ । सवारीधनीले राष्ट्रिय वाणिज्य बैंकको खातामा दाखिल गर्नुपर्छ । एक पटक नम्बर प्लेट जडान भएपछि सवारीसाधन दुर्घटना भएको अवस्थाबाहेक अन्य समयमा फेर्न नपर्ने हुँदा उपभोक्तालाई सस्तो पर्नेछ ।

Advertisement

Advertisement

Advertisement