गत वर्ष पूँंजीबजारमा झन्डै १३४ अर्बको धितोपत्र सूचीकृत, २०४ अर्बको शेयर कारोबार

Advertisement

काठमाडौँ: आर्थिक वर्ष २०७३/७४ मा कुल शेयर कारोबार रकममा २४ दशमलब ९ प्रतिशतले वृद्धि भई २०४ अर्ब ७९ करोड रुपियाँ पुगेको छ ।अघिल्लो आर्थिक वर्ष कारोबार रकम १६३ अर्ब ९६ करोड रुपियाँ पुगेको थियो ।

नेप्से सूचकाङ्कमा वार्षिक विन्दुगत आधारमा भने ७ दशमलब .९ प्रतिशतले ह्रास आई २०७४ असार मसान्तमा १,५८२.७ विन्दु कायम भएको छ। २०७३ असार मसान्तमा उक्त सूचकाङ्क १,७१८.२ विन्दु पुगेका थियो ।

धितोपत्र बजार पूँंजीकरणमा वार्षिक विन्दुगत आधारमा १ दशमलब ८ प्रतिशतले ह्रास आई २०७४ असार मसान्तमा १,८५६ अर्ब ८३ करोड रुपियाँ पुगेको छ । बजार पूँजीकरण अनुपात २०७३ असार मसान्तमा ९१ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७३/७४ को अनुमानित कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ७१ दशमलब ४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८४ दशमलब १ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८५ दशमलब ४ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४ दशमलब २ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २ दशमलब ३ प्रतिशत, होटलहरूको १ दशमलब ६ प्रतिशत, व्यापारिक संस्थाहरूको ० दशमलब १ प्रतिशत र अन्यको ६ दशमलब ५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ असार मसान्तसम्ममा २०८ रहेको छ । २०७३ असार मसान्तमा यस्तो संख्या २३० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १६५ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १४ वटा जलविद्युत्कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी आर्थिक वर्ष २०७३/७४ मा ४१ दशमलब ९ प्रतिशतले वृद्धि भई २८९ अर्ब ५९ करोड रुपियाँ पुगेको, नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय विवरण उल्लेख छ । आर्थिक वर्ष २०७३/७४ मा ४ अर्ब ६७ करोड रुपियाँ बराबरको साधारण शेयर, २९ अर्ब ६४ करोड रुपियाँ बराबरको हकप्रद शेयर, ३६ अर्ब ४२ करोड रुपियाँ बराबरको बोनस शेयर, ६२ अर्ब रुपियाँ बराबरको सरकारी ऋणपत्र र १ अर्ब २५ करोड रुपियाँ बराबरको म्युच्युअल फण्ड गरी कुल १३३ अर्ब ९८ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

Advertisement

Advertisement

Advertisement