माथिल्लो त्रिशुली थ्री बीको विद्युत खरिद सम्झौता

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्री बी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

प्राधिकरण र आयोजनाको प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनीबीच मंगलबार पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणकाका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका प्रवन्ध सञ्चालक मोहन गौतमले पीपीएमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) उत्पादन हुने १३४ दशमलव ८८ गिगावाट घण्टा र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) उत्पादन हुने १५७ दशमलव ७१ गिगावाट घण्टा विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । पीपीए दर वर्षायाम र सुख्खायाममा प्रति युनिट क्रमशः ४ रुपियाँ ८० पैसा र ८ रुपियाँ ४० पैसा रहेको छ ।

आयोजनाको निर्माण आगमी पुसबाट सुरु गर्ने लक्ष्य राखिएको कम्पनीका प्रवन्ध सञ्चालक गौतमले जानकारी दिए । उनका अनुसार अहिले आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटको काम भइरहेको छ । पुसबाट काम सुरु गरी ३६ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

वित्तीय व्यवस्थापनका लागि नविल बैकको नेतृत्वमा सहवित्तीयकरणमार्फत लगानी गर्न प्रारम्भिक सम्झौता भएको उनले जानकारी दिए यो । सहवित्तीयकरणमा जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष र नेपाल बैक रहने छन् ।

आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहने छ ।

नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री एको क्यास्केड आयोजना हो ।

Advertisement

Advertisement

Advertisement