देउवाले अनौपचारिकरुपमा भेटे मोदीलाई, औपचारिक भेट बिहीबार

Advertisement

नयाँदिल्लीः प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार अपरान्ह अनौपचारिक भेटवार्ता भएको छ । मोदीको दिल्लीस्थित सरकारी निवास सेभेन रेसकोर्समा भएको भेटलाई बिहीबार हुने औपचारिक भेटवार्ताको पूर्व तयारीको रुपमा लिइएको छ ।

मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवासँग बाँकी महत्वपूर्ण भेटवार्ता बिहीबार हुने उल्लेख गरेका छन् । यस अनौपचारिक भेटवार्तालाई देउवाको भारत भ्रमणलाई भारतले दिएको महत्वका रुपमा हेर्न सकिने प्रधानमन्त्री देउवाका विदेश मामिलासम्बन्धी सल्लाहकार डा दिनेश भट्टराईको भनाई छ ।

प्रधानमन्त्री देउवा नेपाली दूताबासमा प्रवासी नेपालीहरुसँगको कार्यक्रममा सहभागी भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव आएपछि यो भेट भएको जनाइएको छ ।

पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार गार्ड अफ अनर ग्रहण गरेपछि भारतीय प्रधानमन्त्री मोदीसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री देउवाको भ्रमणको दोश्रो दिन उच्च राजनीतिक भेटघाटको कार्यक्रम राखिएको छ । महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर फर्किएपछि प्रधानमन्त्री देउवालाई विदेशमन्त्री सुषमा स्वराजले भेट गर्ने कार्यक्रम छ ।

हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री देउवावीच दुइ पक्षीय भेटवार्ता हुनेछ । वान टु वान टक, भ्रमण दलका अधिकारी सहभागी भेटवार्तापछि सात वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षरपछि संयुक्त बक्तव्य जारी हुनेछ । त्यसपछि वित्त मन्त्री अरुण जेटली, गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति रामनाथ कोविंद तथा उपराष्टपति बैकेया नायडुसँग प्रधानमन्त्री देउवाले भेटने कार्यक्रम पनि बिहीबारका लागि नै तय गरिएको छ । तेश्रो र चौथो दिन प्रधानमन्त्री देउवा हैदरावाद र विहारको गया जाने कार्यक्रम छ ।

Advertisement

Advertisement

Advertisement