भारतको प्रस्ताव: चितवनसम्म पेट्रोलियम पाइपलाइन, सुनौलीसम्म ग्यास

Advertisement

काठमाडौँ: भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको खबर आजको नयाँ पत्रिकामा छ। बुधबार साँझ भारतीय उद्योगी–व्यवसायीहरूले गरेको कार्यक्रममा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री देउवासँग यस्तो प्रस्ताव गरेका हुन् ।

अक्टोबरमा शिलान्यास
राज्यमन्त्री प्रधानले नेपालको प्रस्तावअनुसार रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न भारत तयार रहेको बताए । त्यस्तै, भारतले गोरखपुरसम्म प्राकृतिक ग्यासको पाइपलाइन विस्तार गरिसकेको जानकारी दिँदै उनले त्यसलाई नेपालले चाहे सुनौलीसम्म विस्तार गरिने बताए । आगामी अक्टोबरमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने उनले बताए । यसका लागि समय मिलाउन उनले प्रधानमन्त्री देउवालाई आग्रहसमेत गरे ।

प्रत्येक पम्पमा २५ जनालाई रोजगारी
‘भारतले पहिलोपटक बहुदेशीय पेट्रोलियम पाइपलाइन बनाउन लागेको हो,’ राज्यमन्त्री प्रधानले भने, ‘त्यसलाई चितवनसम्म विस्तार गर्न तयार छौँ ।’ सोही रुटमा ग्यासको पाइपलाइनसमेत बनाउन सकिने उनले बताए । यसका लागि नेपालसँग साझेदारी गर्न भारत तयार रहेकोसमेत उनले बताए । नेपालीकै लगानी र आइओसीसँगको साझेदारीमा नेपालमा सयवटा पेट्रोलपम्प खोल्न उनले प्रस्ताव गरे । ‘हामी आफैँ लगानी गरेर आउटले खोल्न चाहँदैनौँ,’ उनले भने, ‘प्रत्येक पम्पमा २५ जनालाई रोजगारी दिने गरी नेपाली उद्यमीसँग साझेदारी गरेर पम्प खोल्न चाहन्छौँ ।’

Advertisement

Advertisement

Advertisement