मेक्सिकोको सीमामा पर्खाल लगाउन नपाए सरकार भंग गर्ने ट्रम्पको चेतावनी

Advertisement

एरिजोनाः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमानामा पर्खाल बनाउन नदिए सरकार भंग गर्ने चेतावनी दिएका छन्।

एरिजोनाको फिनिक्समा ‘मेक अमेरिका ग्रेट अगेन' र्‍यालीमा सहभागी भई बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले भने, 'डेमोक्र्याटिक सांसदहरूले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनामा बाधा पुर्‍याउँदै आएका छन्। पर्खाल लगाउन नदिए सरकार भंग गर्नुपर्ने अवस्था आउने छ ।'

राष्ट्रपतीय निर्वाचनका क्रममा मेक्सिकोको सीमामा पर्खाल लगाउने कुरा आफ्नो प्रमुख चुनावी एजेण्डा बनाएका उनलाई संसदमा विपक्षी डेमोक्र्याटिक साँसदहरुले विरोध जनाउँदै आएका छन् ।

झण्डै डेढ घण्टा लामो भाषणमा ट्रम्पले आफूले अमेरिकालाई जहिले पनि महान् बनाउने सोच राखेको भन्दै भने, ‘गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिहरूमाथि रोक लगाउनुपर्ने बेला आइसकेको छ । यो पर्खाल लगाउन कसैले बाधा पुर्‍याउँछ भने सरकार भंग गर्न परे पनि तयार छु । जसरी भए पनि पर्खाल बनाउँछु।'

अवैध आप्रवासीलाई रोक्न ट्रम्पले पर्खाल बनाउन आदेश दिएका थिए पनि कार्यान्वयन हुन सकेको छैन । उक्त पर्खाल बनाउन करिब २७ खर्ब २२ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ।

डेमोक्र्याटिक सांसदहरूले भने यो पर्खाल बनाए अमेरिकी अर्थव्यवस्था प्रभावित हुने भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरुले उक्त खर्च अमेरिकाले व्यहोर्न नसक्ने बताउँदै आएका छन् । सीमानामा पर्खाल लगाउने कुराले मेक्सिको र अमेरिकाबीचको सम्बन्धमा कटुता उत्पन्न भएको छ।

ट्रम्पले सम्बोधनका क्रममा भर्जिनियामा निकालिएको ‘श्वेत' सर्वोच्चतासम्बन्धी मार्चको विरोध गरेका थिए। कैयौं अमेरिकी सञ्चारमाध्यमले उक्त घटनामा आफूलाई मुछ्न खोजेको उनले बताए । टम्पले सञ्चारमाध्यमले आफूलाई मुछेर बेइमानी गरेको गुनासो गरे ।

र्‍यालीमा सहभागी एक प्रदर्शनकारी महिलाको मृत्यु भएपछि सञ्चारमाध्यमले ट्रम्पको आलोचना हुँदै आएको छ । आफूलाई निर्वाचन अभियानका क्रममा असहयोग गरी हिलारी क्लिनटनलाई सहयोग गरेको भन्दै ट्रम्प पहिलेदेखि मिडियादेखि असन्तुष्ट छन् । उनले भने, 'निकै बेइमान सञ्चारमाध्यम पूर्ण रूपमा बेइमान र झूट, नभएको विषयलाई समाचार बनाउँछन्। कैयौं समाचारमा हुँदै नभएको सूत्र भनेर उल्लेख गर्छन्।आफूले मनपरी लेख्छन् ।'

उनले थपे, उनीहरूसँग तथ्य हुँदैन।अनि यस्ता प्रसंग जोड्छन्। म घृणा, घृणित भाषण र हिंसाको विरोधमा बोलेका कुरा लेख्दैनन्।नवनाजी, श्वेत सर्वोच्चता मान्ने व्यक्तिको मैले विरोध गरेको छु।

Advertisement

Advertisement

Advertisement