कुन प्रयोजनका लागि अब कस्तो रङको नम्बर प्लेट राख्ने जानौं

Advertisement

काठमाडौंः यातायात व्यवस्था विभागले शुक्रबारदेखि इम्बोस्ड नम्बर प्लेट’ को दर्ता सुरु गरेको छ । मुलुकमा पहिलोपटक ‘हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट’ सुरु हुनलागेको हो । पहिलो चरणमा वाग्मती अञ्चलमा दर्ता रहेका सवारी साधनमा यो नम्बर प्लेट प्रयोग गरिनेछ ।

विभागले पहिलो चरणमा सरकारी, संस्थान, समिति र निजी तीन र चार पांग्रे साना सवारी, मझौला र ठूला सवारी साधनधनीलाई आफ्नो सवारीमा नयाँ प्रविधिको नम्बर प्लेट जडान गर्न आह्वान गरेको छ ।

इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्ने सवारीधनीले आफ्नो सवारी साधनको हालसम्मको राजस्व तिर्नुपर्ने हुन्छ । ‘यस सम्बन्धमा विभागको वेबसाइटमा गएर ‘इम्बोस्ड नम्बर प्लेट अनलाइन’ फारममा सीधै आफ्नो विवरण भरेर निवेदन दिन सकिन्छ ।’

इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न, चोरी गाडी दर्ता गर्न, निजी, सरकारी, कूटनीतिकलगायतका सवारी साधनका धनी र साधनको विवरण तथा राजस्व असुलीको अवस्थाबारे बुझन सहज हुनेछ । साथै कुन सवारी साधन कुन नाकाबाट उपत्यका बाहिर कतिपटक आवतजावत गर्‍यो भन्ने कुरा पनि सजिलै पत्ता लगाउन सकिने छ ।

राष्ट्रपतिको सवारीमा नेपाली झन्डा, झन्डामुनि माथिबाट हल्का निलो रङ हुँदै तल गाढा निलो रङ, ‘एनईपी’ अक्षर र अक्षरमुनि लालीगुराँससहित नेपालको निसान छाप भएको नम्बर प्लेट हुनेछ । सार्वजनिक सवारी व्यावसायिक प्रयोजन मा पहेंलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो, सरकारीमा सेतो प्लेटमा रातो, कूटनीतिको सवारीमा सेतो प्लेटमा निलो अक्षरले लेखिनेछ ।

नयाँ प्रविधिको नम्बर प्लेट लिन मोटरसाइकलका लागि २ हजार ५ सय, ३ पांग्रे सवारीका लागि २ हजार ९ सय, चार पांग्रेका लागि ३ हजार २ सय र ठूला सवारीका लागि ३ हजार ६ सय रुपैयाँ शुल्क लाग्नेछ ।

Advertisement

Advertisement

Advertisement