देउवा घुम्दै विहार आइपुगे, नितिशसँग भेटवार्ता

Advertisement

बिहार (भारत): प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो भारत भ्रमणको शनिबार साँझ भारतको आन्ध्र प्रदेशबाट विहार आइपुगेका छन् । उनी शुक्रबार हैदरावादमा वास बसेका थिए ।

आज बिहान हैदरावादबाट आन्ध्र प्रदेशस्थित हिन्दु देवस्थल तिरुपति बालाजीको दर्शन र पुजा लागि देउवा आन्ध्र प्रदेश गएका हुन । उनलाई आन्ध्र प्रदेशका आवास मन्त्री के श्रीनिवासनले तिरुपति विमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्रीकी पत्नी आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव, सांसदहरु एवम् भ्रमण दलका सदस्यहरु प्रधानमन्त्री देउवाको साथमा थिए । तिरुपति पूजा गरेपछि आजै साँझ देउवा विहार आइपुगेका हुन ।

विहारमा उनलाई विहारस्थित गया विमानस्थलमा विहारका शिक्षामन्त्री कृष्णनन्दन बर्माले स्वागत गरे । विमानस्थलमा देउवाको विशेष स्वागतका लागि नवकन्या एवं विभिन्न वैदिक साँस्कृतिक बाद्यवादक पनि राखिएको थियो ।

प्रधानमन्त्री देउवासँग विहारका मुख्य मन्त्री नितिशकुमारले आजै साँझ भेटवार्ता गरे । नेपालको छिमेकी राज्य विहारका मुख्यमन्त्री नितिशसँग नेपाल–भारत सम्बन्ध लगायतका विभिन्न आपसी हित र चासोका विषयहरुमा कुरा भएको जनाइएको छ ।

देउवासँग बिहारको रोयल रेसिडेन्सी होटलमा नितिशले भेट गरेका थिए । भारतको पाँचदिने औपचारिक भ्रमणमा रहेका देउवा र नितिशबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिका विषयमा छलफल भएको जनाइएको छ ।

नेपाल र भारततर्फ बाढीले पुर्याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा प्रधानमन्त्री देउवाले जोड दिएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए ।

भेटवार्तामा बाढी नियन्त्रणका लागि कोशी र गण्डक सम्झौतासम्बन्धी दुई देशीय संयुक्त संयन्त्रलाई सक्रिय बनाई बाढी नियन्त्रणका दीर्घकालीन प्रबन्ध नहुन्जेलसम्म दुवै देशका लागि अभिशाप हुने भएकाले संयुक्त संयन्त्रको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको जनाइएको छ ।

भेटवार्तामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवका अनुसार भारतको पटना र नेपालको काठमाडौँमा पानी व्यवस्थापनको छुट्टाछुट्टै सम्मेलन गर्ने सहमति भएको छ । ती सम्मेलनमा नेपाल तथा भारत सरकारका जलस्रोतसम्बन्धी विज्ञ तथा सरकारी अधिकारीको सहभागिता हुनेछ ।

देउवा आजै उनको सम्मानमा नितिशद्धारा आयोजित रात्रिभोजमा सहभागी भए । देउवा आइतबार बिहारको बोधगयामा रहेको महाबोधी जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा आइतबार साँझ बिहारबाट नयाँदिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।

Advertisement

Advertisement

Advertisement