संस्थालाई कम्पनीमा दर्ता गरेको भन्दै नेपाल इञ्जिनियरिङ कलेजमा अख्तियारको छापा

Advertisement

काठमाडौंः भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी कागजपत्र जफत गरेको छ । सामाजिक संस्थाका रुपमा दर्ता भएको यस कलेजलाई रातारात प्राइभेट कम्पनीमा दर्ता गरिएको भन्दै कागजात जफत गरिएको हो ।

कलेजका सञ्चालकहरुले सामाजिक संस्थाको रुमपा दर्ता भए पनि यसमा भएको लगानी आफूहरुको निजी भएको बताउँदै आएका छन् । जग्गासम्वन्धी विषयमा लामो समयदेखि स्थानीयहरुसँग विवाद गर्दै आएको यस कलेजलाई कम्पनीको रुपमा दर्ता गर्ने लामो समयदेखिको प्रयास हालै सफल भएपछि अख्तियारले छापा हानेको हो ।

कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले कम्पनी रजिष्टारको कार्यालयमा निजी कम्पनीका रुपमा यसलाई दर्ता गराउन सफल भएका थिए । संस्थाकै केही सञ्चालकले उजुरी दिएपछि अख्तियारले छानविन अघि बढाएको हो । कलेजका सञ्चालकहरु हरिप्रसाद पाण्डे र सलिल भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

डेढ अर्बभन्दा बढी चल अचल सम्पत्ति रहेको यस कलेजका सञ्चालकहरुबीच पहिलेदेखि नै झगडा रहेको थियो । पोखरा विश्वविद्यालयको सम्वन्धनमा सञ्चालन हुँदै आएको यस कलेज सामाजिक संस्थाको रुमपा रहँदा यो गैरनाफामूलक हुने र यसको सम्पत्ति अन्तिममा सरकारमा जाने हुन्छ ।

यस कलेजमा स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ पढाइ हुँदैछ । चाँगुनारायणमा कुल २०७ रोपनी क्षेत्रफल ओगटेको नेपाल इन्जिनियरिङ कलेजले उक्त स्थानमा सर्ने क्रममा ३३ रोपनी जग्गा खरिद गरी भवन बनाए पनि बाँकी भने स्थानीयको सहमतिमा कलेज सञ्चालनका लागि प्रति जग्गा भोगचलन गर्न दिइएको थियो ।

कलेजका अध्यक्ष न्यौपानेका अनुसार तत्कालिन गाविसको जग्गा भोगचलनका लागि सामाजिक संस्थामा दर्ता हुनुपर्ने भएकाले २०६० सालमा कलेजलाई सामाजिक संस्थाका रुपमा दर्ता गरिए पनि आफूहरुको निजी लगानी रहेको भन्दै कम्पनी दर्ता भएको विषयमा सञ्चालकहरुले राजनीति गरेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement