ऐन नै संशोधन गरेर आइएनजिओलाई एकद्धार प्रणालीमा लगिने

Advertisement

काठमाडौंः महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले नेपालमा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ–आइएनजिओ)को गतिविधिलाई एकद्धार प्रणालीमा लैजाने तयारी भइरहेको बताएकी छिन् ।

आइतबार राजधानीको एक कार्यक्रममा मन्त्री कोइरालाले समाज कल्याण ऐन संशोधन गरेर एनजिओ र आइएनजिओलाई व्यवस्थित र नियमन गरिने बताइन् । ऐन संशोधन प्रक्रिया सुरु भइसकेको भन्दै उनले भनिन्, “राष्ट्रिय बजेटभन्दा बढि एनजिओ आइएनजिओको बजेट हुँदोरैछ । तर प्रभावकारी काम भएको पाइएन ।”

आइएनजिओहरु विभिन्न उद्देश्यले आउने गरेको बताउँदै कोइरालाले सबै संस्थाले समाजको हितमा काम नगर्ने हुँदा कडारुपमा प्रस्तुत हुनुपर्ने बताइन् । उनले महिला बालबालिका र जेष्ठ नागरिकको हितका लागि ३७ बुँदे कार्ययोजना बनाइएको जानकारी दिइन् ।

महिलाको सहजताका लागि केही महत्वपूर्ण योजना अघि सारिएको भन्दै मन्त्री कोइरालाले भनिन्, “महिला विरुद्धको कूरीति, कूसंस्कार र अपराधिक घटना अन्त्य गर्नका लागि काम भइरहेको छ । हरेक स्थानीय तहमा महिला हिंसा र अपराध रोक्नका लागि र्यापिड रेस्पोन्स एण्ड एक्सन टिम निर्माण गरिने छ ।”

ज्येष्ठ नागरिकका, अपाङ र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बढाउनका लागि पनि आफूले पहल गरिरहेको मन्त्री कोइरालाले बताइन् । त्यस्तै असहाय र सडक बालबालिकाको संरक्षणका लागि पनि नयाँ कार्यक्रम ल्याइने मन्त्री कोइरालाको दाबी छ ।

Advertisement

Advertisement

Advertisement