एमालेको राष्ट्रवादले देशकै बदनाम भयोः पौडेल

Advertisement

दमौलीः कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले राष्ट्रवादका नाममा प्रधानमन्त्रीको बारेमा गरेको टिप्पणीले नेपालकै बदनाम हुने बताएका छन् । आफ्नो गृहजिल्ला तनहुँमा आइतबार आयोजित कार्यक्रममा उनले देउवाको भारत भ्रमणबारे एमालेले गरेको टिप्पणीको कुनै तुक नभएको बताए ।

पौडेलले भने, ‘सासाना कुरालाई अतिरञ्जित गरेर उडाउन खोज्दा हाम्रो बदनाम हुन्छ । सामान्य कमजोरी भएका होलान । तर देउवाको भारत भ्रमण सफल भएको मान्नुपर्छ ।’ राष्ट्रिय झन्डा र राष्ट्रियता शब्दलाई नै एमालेले दुरुपयोग गरेको उनको तर्क थियो ।

नेता पौडेलले संविधानमा विमती राखेका शक्तिहरु निर्वाचनमा आउने वातावरण बन्दै गएको बेलामा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अतिरञ्जित गर्न खोजेको भन्दै आगामी असोज र मंसिरमा हुने सबै निर्वाचनमा मधेसवादी दलहरुले भाग लिने वातावरण बन्दा लोकतन्त्र संस्थागत हुने बताए ।

स्थानीय निर्वाचन सम्पन्न हुने चरणमा रहेको र बाँकी दुई निर्वाचन पनि सफल भएमा देश आर्थिक समृद्धितर्फ अघि बढेर रोजगारीका अवसरहरु सिर्जना हुने भन्दै उनले रहेक कुरालाई राष्ट्रवादसँग नजोडन एमालेलाई आग्रह गरे ।

नेता पौडेलले देउवाको पनि चर्को आलोचना गरे । उनले पार्टीभित्र देउवाले निरंकुशता लादेको आरोप लगाए । दिल्ली भ्रमणमा जाने बेला कार्यवहाक सभापतिको जिम्मेवारी नेता विमलेन्द्र निधिलाई दिएकोप्रति चर्को आलोचना गरेका पौडेलले पार्टीमा छलफल समेत नगरी उक्त निर्णय गरेको गुनासो गरे ।

उनले भने, ‘पार्टीको नीति, नियम छ, केन्द्रीय समितिको बैठक बस्नुपर्छ, तर, बिना जानकारी जिम्मेवारी दिने काम भएको छ । लोकतान्त्रिक पार्टीमा निरंकुश प्रणाली हाबी भएको छ, त्यसविरुद्ध म लडिरहेको छु ।’ उनका अनुसार अहिलेसम्म काँग्रेसमा उपसभापतिलाई कावा दिने चलन भए पनि उपसभापति नदेखाइकन कावा दिँदा पार्टीका नेता र कार्यकर्ताको मानहानी भएको छ ।

कांग्रेसमा अहिलेसम्म संसदीय समिति नबनेकोले स्थानीय तहदेखि अन्य निर्वाचनका उमेदवार छनौटमा ढिलाई भएको पौडेलले खुलासा गरे । ढिला निर्णयकै कारण गत स्थानीय तह अघिल्ला निर्वाचनमा पार्टीलाई ठूलो घाटा भएको भन्दै पौडेलले पार्टीभित्र लोकतान्त्रिक संस्था र मूल्यांकनको परिपाटी हराउँदै गएको बताए ।

Advertisement

Advertisement

Advertisement