धुर्मुस–सुन्तली फाउण्डेशनले बाँड्यो सप्तरीका एक हजार बाढीपीडित विद्यार्थीलाई शैक्षिक सामग्री

Advertisement

सप्तरीः हास्य कलाकारद्धय सीताराम कट्टेल र कुञ्जना घिमिरेद्धारा स्थापना गरिएको सामाजिक संस्था धुर्मुस–सुन्तली फाउण्डेशनले सप्तरीका छ वटा विद्यालयका बाढी पीडित बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेको छ ।

यस बर्ष भारी बर्षापछि आएको बाढीबाट तराईमा ठूलो धनजनको क्षति भएपछि पीडितहरुको उद्दार र राहतका लागि कलाकार कट्टेल यस क्षेत्रमा क्रियाशील छन् । बाढी पीडितहरुलाई सहयोग गर्ने क्रममा शैक्षिक सामग्री, बिद्यालयका पोशाक समेत बाढीमा गुमाएका एक हजार बालबालिकालाई धुर्मुस–सुन्तली फाउण्डेशनमार्फत शैक्षिक सामग्री वितरण गरिएको हो ।

राहत बितरणका क्रममा कट्टेलले भने, ‘बालबालिका भविष्यका कर्णधार हुन । उनीहरुलाई हेरविचार गर्न, सुरक्षित राख्न र शिक्षा दिक्षामा सबैले ध्यान दिन जरुरी छ त्यसैले हामीले बिद्यालयमा शैक्षिक बातावरण तयार होस भन्नका लागि यस खाले शैक्षिक सामग्री बितरण गरेका हौं ।’

फाउण्डेशनले सप्तरीमा रहेका आधारभुत बिद्यालय रमपुरामल्हनियाँ, रामराजानकी राष्ट्रिय प्राथमिक बिद्यालय दलवा रमपुरामल्हनियाँ, राष्ट्रिय प्राथमिक बिद्यालय रमपुरामल्हनियाँ, लिल्जा ठाकुर प्राथमिक बिद्यालय हनुमान नगर, आधारभुत बिद्यालय, गोवरगाढा र राष्ट्रिय प्राथमिक बिद्यालय, हनुमाननगर गरी छ सरकारी बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेको हो ।

फाउण्डेशनले बितरण गरेको उक्त सामग्रीमा हरेकलाई झोला, एक दर्जन कापी, एक दर्जन सिसा कलम, एक दर्जन कलम, टिफिन बक्सा, ज्योमेट्री बक्स, पानी पिउने बोतल सहितको प्याकेज समावेश छन् । यसअघि फाउण्डेशनले बाढीले डुवानमा परेर घरबारबिहीन तराईका बासिन्दाहरुका लागि बिभिन्न राहतका प्याकेज बितरण गरेको थियो । अहिलेसम्म फाउण्डेशनले तराईका २३ स्थानमा राहत बितरण गरिसकेको छ ।

फाउण्डेशनले बर्दिवास, धनुषा, सिन्धुली, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, सर्लाही, रौतहट, बारा लगायतका स्थानमा खाद्यान्न, लत्ताकपडा तथा औषधि बितरण गरेको हो । कट्टेलले आफै खटेर १२ जिल्लाका २३ ठाउँमा झण्डै ४५ लाख बरावरको राहत सामग्री बितरण गरिसकेको जनाएका छन् । उनले अब आफ्नो अभियान राहतका सँगसँगै स्वास्थ्य, शिक्षा, सरसफाई र पुर्नवासमा सहयोगी बन्ने रहेको बताए ।

बाढीका कारण धेरै स्थानका खानेपानीका पाइपहरु फुटेको, पीडितहरुले दुषित पानी पिउनुपर्ने अवस्था रहेको, जसका कारण झाडापखाला, रुघाखोकी जस्ता भाइरल रोग लाग्न सक्ने, सर्प र लामखुट्टेको टोकाई त्यहाँका बासिन्दाहरुको मुख्य समस्या भएको भन्दै अब उनीहरुको लागि अभियान चलाउने कट्टेलको भनाई छ । फाउण्डेशनले बाढीका कारण अस्वस्थ बनेकाहरुलाई अस्पतालमा भर्ना गरी उपचार समेत गराइरहेको छ ।

dhurmus-suntali-donate-school-bag-blood-victims-children

Advertisement

Advertisement

Advertisement