देउवाले संसदमा भने- भारतले मलाई राजकीय सम्मान दियो, राष्ट्रपति भवनमा बस्न दियो

Advertisement

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको दावी गरेका छन् ।

व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी गराउँदै उनले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रष्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको बताए ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आगामी एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको उल्लेख गर्दै देउवाले ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई बढवा दिने र प्रसारणलाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको बताए ।

प्रधानमन्त्री देउवाले आर्थिक विकास र नेपालमा लगानीका लागि आफूले भारतीय पक्षसँग कुरा गरेको, पर्यटन क्षेत्रको विकास तथा विस्तार, निजगढ विमानस्थल निर्माण तथा नयाँ १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा समेत सहमति भएको बताए ।

कुशाहा कटैया, रक्सौल परवानीपुर प्रसारण लाइनको उद्घाटन गरिएको र आगामी हिउँदमा नेपालको ऊर्जा मागलाई सम्बोधन गर्न मार्ग प्रशस्त गरिएको भन्दै देउवाले भने – “आठवटा विभिन्न विषयमा समझदारी भएको छ ।”

उनले थप नयाँ स्थानमा प्रसारण लाइन निर्माणलाई समेत अगाडि बढाइने सहमति भएको बताउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रको विकास, ठूला आयोजना अगाडि बढाउने र त्यसको कार्यान्वयनमा जोड दिनेतर्फ नेपाल र भारत सहमत भएको बताए ।

यस्तै माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता जलविद्युत् आयोजना अगाडि बढाउने सन्दर्भमा समेत महत्वपूर्ण छलफल भएको बताउँदै उनले ठूला र महत्वपूर्ण आयोजना क्रमशः अगाडि बढ्ने बताए ।

देउवाले मेची पुल निर्माण, सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रका विभिन्न विकास आयोजना तथा अन्य ठूला आयोजना, व्यापार विविधिकरणलगायतका विषयमा समेत सहमति भएको पनि बताए ।

संविधान निर्माण र कार्यान्वयन गर्ने विषय नेपालको आन्तरिक विषय रहेको र यसमा अरुको चासो रहनुपर्ने विषय नभएको भन्दै उनले आफूसँग जोडिएर गरिएको प्रचार र टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

प्रधानमन्त्री देउवाले मुलुकको आन्तरिक विषयमा आफूले केही पनि उल्लेख नगरेको भन्दै गलत टिप्पणी नगर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरे । एमाले र स्वयम सत्तारुढ माओवादी केन्द्रका अध्यक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगाडि संविधानको सर्वस्वीकार्यताका लागि पहल जारी रहेको र संविधान संशोधनको प्रयास फेरि गरिने बताएको विषयमा आलोचना गरिरहेका छन् ।

देउवाले भने, “नेपालको आन्तरिक विषय र संविधानका बारेमा कुनै पनि सम्झौता हुन सक्दैन, अनावश्यक टिप्पणीको अर्थ रहँदैन ।” संविधानप्रति रहेको असन्तुष्टिलाई सम्बोधन गरी यसको सर्वस्वीकार्य बढाउने प्रयास अझै पनि जारी रहेको स्पष्ट पार्दै उनले नेपालको लोकतन्त्र र शान्ति प्रक्रिया विशिष्ट तवरले अगाडि बढिरहेको बताए ।

देउवाले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन सफल भएको र त्यसले नेपाललाई दीर्घकालीनरुपमा लाभ प्राप्त हुने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म प्रधानमन्त्री देउवाले भारतको भ्रमण गरेका थिए ।

प्रधानमन्त्रीका रुपमा देउवाको यो चौथो भ्रमण हो । छिल्लोपटक उनको नेतृत्वमा सरकार गठन भएपछिको भने यो पहिलो विदेश भ्रमण हो । देउवाले आफूलाई भारत सरकारले राजकीय भ्रमणको सम्मान दिएको र राष्ट्रपति भवनमा आवासको व्यवस्था गरेको समेत सदनलाई जानकारी गराए ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतीय प्रधानमन्त्री र नेताहरुले आफू र आफू नेतृत्वको प्रतिनिधिमण्डललाई बधाई दिएको समेत देउवाले स्पष्ट पारे । भ्रमणपूर्व आफूले पूर्व प्रधानमन्त्री, सरोकार भएकाहरुसँग र निजी क्षेत्रसँग पनि छलफल गरेको भन्दै आफ्नो भ्रमण सफल भएको दोहोर्याए ।

Advertisement

Advertisement

Advertisement