युनिलिभरले लुकायो नाफामा भएको भारी गिरावट, बार्षिकमा १४ र त्रैमासमा ३१ प्रतिशत घट्यो नाफा

Advertisement

काठमाडौंः ‘बोसो हालेको साबुन’ उपनामले चिनिदै आएको नेपालको एक बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत बर्ष नाफामा भएको भारी गिरावटलाई लुकाउने प्रयास गरेको छ ।

कम्पनीले सोमबार जारी गरेको आफ्नो आर्थिक विवरणमा नाफामा भएको भारी गिरावटलाई उल्लेख नगरी अन्य विवरणहरु प्रस्तुत गरेर आफ्नो लगानीकर्ता तथा सर्वसाधारणलाई भ्रमित बनाउने प्रयास गरेको छ । कुनै एक राष्ट्रिय दैनिकमा छदम भेषमा बोसो हालेको अरु साबुन प्रयोग नगर्न आग्रह गर्दै निकृष्ट ढंगको विज्ञापन प्रकाशित गरेपछि युनिलिभर र उक्त विज्ञापन प्रकाशित गर्ने प्रकाशन गृहको चौतर्फी आलोचना भएको थियो ।

प्रायः हरेक बर्ष नाफा बढाउँदै गएको युनिलिभरले नाफामा झण्डै १४ प्रतिशतको गिरावट आएको छ । युनिलिभरको लेखापरीक्षण भएको बासलातअनुसार आर्थिक बर्ष २०७२–७३ मा एक अर्ब १२ करोड १७ लाख रुपियाँ खुद नाफा गरेकोमा गएको आर्थिक बर्षमा यो घटेर ९६ करोड ५२ लाख रुपियाँमा सीमित भएको छ ।

त्यस्तै, चौंथो त्रयमासिक हिसावमा पनि नाफामा ३१ दशमलव ४७ प्रतिशतले गिरावट आई ४४ करोड ४० लाख रुपियाँबाट ३० करोड ४३ लाख रुपियाँमा सीमित भएको छ । तर, युनिलिभरले जारी गरेको विज्ञप्तिमा यी कुनै पनि तथ्यलाई उल्लेख नगरी बनावटी कुराहरु उल्लेख गरेर सार्वजनिक गरेको छ ।

नौ करोड २१ लाख रुपियाँ मात्रै चुक्ता पुँजी रहेको युनिलिभरले जगेडा कोषमा एक अर्ब ९५ करोड ६९ लाख रुपियाँ राखेको छ । पुँजी बढाउँदा नाफा लैजान नपाइने र भएको नाफा सेयरमै लगानी हुने तथा सेयर मूल्यमा पनि सामान्य गिरावट भई अहिले जसरी सेयर बजारमा चलखेल कम हुने भएकाले पुँजी बढाउन कम्पनीले चासो नदिएको हो ।

कुल सञ्चालन आम्दानीको राम्रै वृद्धि भए पनि अस्वाभाविक खर्च देखाएर खुद नाफा कम गरिएको छ । खर्च के शीर्षकमा किन गरिएको उसले उल्लेख गरेको छैन । आर्थिक बर्ष २०७२–७३ मा चार अर्ब ४० करोड ५३ लाख सञ्चालन मुनाफा गरेमा गएको आर्थिक बर्षमा पाँच अर्ब एक करोड ८१ लाख रुपियाँ सञ्चालन मुनाफा गरेको छ ।

गएको बर्ष खर्चमा झण्डै २० प्रतिशत वृद्धि भएको देखाइएको छ, जुन अस्वाभाविक देखिन्छ । खर्चमा झण्डै दोब्बर वृद्धि हुँदा त्यसको प्रभाव मुनाफा वितरणमा पर्ने भएको छ । आम्दानीको कमी आएपछि कम्पनीले आफ्नो आयव्याय विवरणमा नाफा नोक्सानलाई उल्लेख नगरी कारोबार रकममा १३ प्रतिशत वृद्धि भएको भन्दै प्रगति देखाउने प्रयास गरेको छ ।

उसले घुमाउरो शैलीमा नेपालको कारण नाफा घटेको तथ्य प्रस्तुत गरेको छ । युनिलिभरका अनुसार साढे दुई महिना कारखानामा तालाबन्दी भएको, गर्मी यामको गैरआगमनका कारण साबुनको बिक्रीमा नकारात्मक प्रभाव परेको र पछिल्लो समयमा स्थानीय निर्वाचनका कारण बजारजन्य कार्यदिनमा कमी आउँदा पनि कारोबार १३ प्रतिशतले बढ्नु ठूलो सफलता भएको दावी गरेको छ ।

अत्यधिक खपत हुने (एफएमसीजी) वस्तुहरुको उत्पादन गर्ने युनिलिभरका उत्पादनहरुको नेपालमा ठूलो प्रभाव रहेको छ । भारत बेसको यस बहुर्राष्ट्रिय कम्पनी भएकाले यसका कमी कमजोरीलाई नेपाल सरकारले समेत हस्तक्षेप गर्ने आँट गर्दैन ।

युनिलिभरको सञ्चालक समितिले सय रुपियाँ दरको प्रति सेयरमा प्रतिशेयर एक हजार एकसय लाभांश प्रस्ताव गरेको छ । यो वर्ष नेपालमा कम्पनीले आफ्नो सञ्चालनको २५औं वर्ष मनाइरहेकोले उक्त अवसरमा थप १७० विशेष लाभांश पनि सिफारिस गरिएको छ । यद्यपि यो विगतमा तुलनामा धेरै कम हो । युनिलिभर नेपालका प्रबन्ध निर्देशक सुयश चौहानले आन्तरिक तथा बाह्य चुनौतीसँग जुझ्दै आफूहरुले सन्तोषजनक प्रगति हासिल गरेको दावी गरेका छन् ।

unilever-nepal

Advertisement

Advertisement

Advertisement