प्रस्तावित नेपाल इन्फ्रास्ट्रक्चर बैंक स्थापनाको लागि निवेदन दर्ता, चुक्ता पूँजी २० अर्व

Advertisement

काठमाडौं: देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्ने मुख्य लक्ष्यसहित खोलिन लागिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको औपचारिक स्थापनाको लागि बुधबार राष्ट्र बैंकमा निबेदन दर्ता गरिएको छ।

हिजो सम्पन्न एक बिशेष कार्यक्रममा प्रस्तावित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष डा.विमल कोइराला नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको उपस्थितिमा बैंकको आवश्यक कागजातहरु हस्तान्तरण कार्य सम्पन्न भएको छ ।

कार्यक्रममा जनाइए अनुसार प्रस्तावित बैंकको चुक्तापुँजी २० अर्ब रहने छ । बैंकमा सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्वसाधारण समुह तर्फ ४० प्रतिशत शेयर रहनेछ।

हाल संस्थापक समुहमा विभिन्न बैंक तथा विमा कम्पनीहरु लगायत प्रतिष्ठित उद्योगी व्यापारीहरुको लगानी रहेको बुझिएको छ ।

बैंकको संचालक समितिमा सरकार समेतको प्रतिनिधिसहित ७ जना सञ्चालक सदस्य रहने व्यवस्था गरिएको छ ।

यस बैंकले नेपालको मात्रै नभएर विदेशी बैंक तथा वित्तिय संस्थाहरुलाई समेत लगानी गर्न सक्ने गरि बैंक स्थापनाको उदेश्य भित्र समेटिएको छ ।

यस प्रस्तावित बैंकको अन्य उदेश्यहरुमा पुर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृतिलई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने र लिजिङ्ग कारोबार रहेका छन् ।

Advertisement

Advertisement

Advertisement